काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकले कुल १९ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा करिब १३ अर्ब रुपैयाँ नाफा कमाएका बैंकहरूको यस वर्षको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
नाफाको आकारका आधारमा नबिल बैंक पहिलो स्थानमा रहेको छ । बैंकले २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ४५.४२ प्रतिशतले बढी हो । ग्लोबल आइएमई बैंक २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ नाफासहित दोस्रो र राष्ट्रिय वाणिज्य बैंक १ अर्ब ६४ करोड ९६ लाख रुपैयाँसहित तेस्रो स्थानमा छन् ।
तर, नाफा वृद्धिदरमा भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) सबैभन्दा अगाडि देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ४ करोड ५० लाख रुपैयाँ नाफा कमाएको बैंकले यस वर्ष १ अर्ब १८ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा वृद्धिदर २५२२.४६ प्रतिशत पुगेको छ ।
यस अवधिमा एभरेष्ट बैंकले १ अर्ब २५ करोड २७ लाख, प्राइम बैंकले १ अर्ब १८ करोड ७६ लाख, एनएमबि बैंकले १ अर्ब १६ करोड ४२ लाख, कुमारी बैंकले १ अर्ब ७ करोड ४५ लाख र सानिमा बैंकले १ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।
त्यस्तै, सिद्धार्थ बैंकले ८५ करोड १५ लाख, नेपाल बैंकले ८३ करोड २१ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ६७ करोड १४ लाख, हिमालयन बैंकले ६५ करोड ४८ लाख, लक्ष्मी सनराइज बैंकले ६५ करोड ३३ लाख, प्रभु बैंकले ६० करोड ३७ लाख, नेपाल एसबिआई बैंकले ५५ करोड २२ लाख र माछापुच्छ्रे बैंकले ५५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
एनआईसी एशिया बैंकले १२ करोड ७४ लाख रुपैयाँ नाफा कमाउँदा गत वर्ष २२ करोड ४ लाख रुपैयाँ घाटामा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड ७७ लाख रुपैयाँ नाफामा फर्किएको छ ।
समग्र बैंकिङ क्षेत्रको नाफा बढे पनि हिमालयन, प्राइम र स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा भने गिरावट आएको छ । हिमालयन बैंकको नाफा ६.८३ प्रतिशत, प्राइम बैंकको ५.६२ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकको २.९९ प्रतिशतले घटेको विवरणमा उल्लेख छ ।
समग्रमा पहिलो त्रैमासको वित्तीय विवरणले अधिकांश वाणिज्य बैंकको नाफामा सुधार देखाएको छ भने केही बैंकको प्रदर्शनमा भने गिरावट कायम रहेको छ ।
प्रतिक्रिया