काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैली र प्रवृत्तिले सीमा नाघेको टिप्पणी गरेका छन् ।
सञ्चारमाध्यममा प्रहरी प्रवेश गर्ने, सञ्चारकर्मी पक्राउ पर्ने तथा पक्राउको तयारी भइरहेका घटनाप्रति आपत्ति जनाउँदै थापाले सरकारको पछिल्लो गतिविधिले चिन्ता बढाएको बताएका हुन् ।
उनले सरकारको कामकारबाही र राज्य सञ्चालनको प्रवृत्तिलाई गम्भीर रूपमा हेर्नुपर्ने अवस्था आएको उल्लेख गरे । “अहिले सरकारको कामकारबाही चिन्तित नै भएर हेर्नुपर्ने विषय भयो । प्रवृत्ति चिन्तित नै बनाउने खालको छ,” उनले भने ।
सरकारले राज्यका निकायलाई आफ्नो आदेश पालना गर्ने संस्थाका रूपमा बुझ्न थालेको आरोप लगाउँदै थापाले भने, “हामी नै हो स्टेट, हामीले बोलेको कुरा हुकुम हुन्छ, अड्डा, अदालत, प्रहरी हाम्रा आदेश पालना गर्नेहरू हुन् भन्ने सोचियो ।”
उनले सरकारबाट शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको दाबी गर्दै यस्तो प्रवृत्ति स्वीकार्य नहुने धारणा व्यक्त गरे । “शक्तिको स्वेच्छाचारी प्रयोग भइरहेको छ । मेरो इच्छा नै कानुन हो भन्ने भयो अहिले भएकै त्यही हो । प्रवृत्तिले हद नाघेको छ,” थापाले भने ।
सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएका पछिल्ला घटनालाई लिएर प्रमुख प्रतिपक्षी दलका नेताको यस्तो अभिव्यक्ति आएको हो ।
प्रतिक्रिया