लगनखेल मालपोतमा घुस र अभिलेख हेरफेर प्रकरण : वडाध्यक्षसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०८३, सोमबार ०६:०६

काठमाडौं । भूमि प्रशासन कार्यालय लगनखेलका कर्मचारी र स्थानीय जनप्रतिनिधिको मिलेमतोमा सेवाग्राहीबाट घुस लिई सरकारी अभिलेख हेरफेर गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले ललितपुर महानगरपालिका–४ का वडाध्यक्ष सन्तोष खड्कासहित भूमि प्रशासन कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीलाई प्रतिवादी बनाएको हो । मुद्दा दायर गरिएकामा भूमि प्रशासन अधिकृत अर्जुनदेव योङ्या र नवीनकुमार गोले, नायब सुब्बा मनोज पोख्रेल, राजकुमार मगर र विशाल सुन्दास, खरिदार नरेन्द्रबहादुर बस्नेत र भक्तबहादुर राना तथा सहायक कम्प्युटर अपरेटर इन्दु दाहाल छन् । लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाललाई मतियारका रूपमा प्रतिवादी बनाइएको छ ।

अख्तियारको अनुसन्धानअनुसार उनीहरूले साबिक ललितपुर नगर वडा नं. ४ (ध) को जग्गाको अंश बुझेको भर्पाई लिखत पारित गर्ने बहानामा सेवाग्राहीबाट ३ लाख रुपैयाँ घुस लिई आपसमा बाँडफाँट गरेका थिए ।

नापी कार्यालयबाट जग्गाको हालसाबिक भई नयाँ स्रेस्ता र नक्सा प्राप्त भइसकेको अवस्थामा पनि उक्त विवरण लुकाइएको अख्तियारको दाबी छ । भू–सेवा प्रणालीमा विवरण अद्यावधिक नगरी पुरानो अभिलेखका आधारमा लिखत पारित गराएर स्रेस्ता पुर्जा तयार गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वडाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१), ९ र ११ बमोजिम ३ लाख रुपैयाँ बिगो कायम गरी कैद तथा बिगोबमोजिम जरिवाना सजाय माग गरिएको छ ।

त्यस्तै, घुस लेनदेन र सरकारी अभिलेख हेरफेरमा मतियार बनेको अभियोग लागेका लेखापढी व्यवसायी शैलेन्द्र रानामगर र समीर कटवाललाई पनि ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांशअनुसार मुख्य कसुरदारसरह कैद र जरिवाना सजाय गर्न अख्तियारले मागदाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

slot gacor