आठ महिनादेखि रामेछापका ग्रामीण क्षेत्रमा टेलिकम सेवा प्रभावित, सेवाग्राहीलाई सास्ती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०८३, सोमबार ०६:२३

रामेछाप। रामेछापका ग्रामीण क्षेत्रमा नेपाल टेलिकमको टेलिफोन तथा इन्टरनेट सेवा नियमित नहुँदा हजारौँ सेवाग्राही समस्यामा परेका छन्। आठ महिनादेखि नेटवर्कमा समस्या देखिँदै आए पनि समाधान हुन नसकेको भन्दै स्थानीयले सेवा सुधार गर्न माग गरेका छन्।

उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी र दोरम्बा शैलुङ गाउँपालिकाका साथै रामेछाप र मन्थली नगरपालिकाका विभिन्न क्षेत्रमा फोन नलाग्ने, आवाज स्पष्ट नसुनिने, कुराकानी गर्दागर्दै फोन काटिने र मोबाइलमा नेटवर्क देखिए पनि इन्टरनेट नचल्ने समस्या रहेको सेवाग्राहीको गुनासो छ।

नेटवर्क समस्याका कारण आफन्तसँग सम्पर्क गर्न, अनलाइन अध्ययन गर्न तथा विपद्का बेला आवश्यक सूचना आदानप्रदान गर्नसमेत कठिनाइ भएको उमाकुण्ड गाउँपालिका–१ वाम्तीकी लक्ष्मी कार्कीले बताइन्।

स्थानीयले पटकपटक नेपाल टेलिकम कार्यालय मन्थलीमा जानकारी गराए पनि समस्या समाधान हुन सकेको छैन। नेपाल टेलिकम मन्थलीका प्रमुख अर्जुन पोखरेलले माथिल्लो लेकाली क्षेत्रमा नेटवर्कको समस्या रहेको स्वीकार गर्दै कार्यालयबाट मात्रै समाधान गर्न नसकिने बताए। उनका अनुसार समस्या समाधानका लागि तालुक कार्यालयमा जानकारी गराउनेबाहेक अन्य विकल्प छैन।

कार्यालयका अनुसार पुराना टावरमा जडान गरिएका उपकरणको क्षमता पूर्ण रूपमा प्रयोग भइरहेको छ। मोबाइल प्रयोगकर्ताको संख्या बढ्दै जाँदा नेटवर्कमा समस्या उत्पन्न भएको हुन सक्ने कार्यालयको अनुमान छ।

यसअघि स्थानीयले नेटवर्क समस्या समाधानका लागि रामेछापका प्रतिनिधिसभा सदस्य डा. कृष्णहरि बुढाथोकीको ध्यानाकर्षण गराएका थिए। उनले टावरका उपकरण थप गर्ने र सेवा विस्तारका लागि पहल गर्ने आश्वासन दिएका थिए। उनले यस विषयमा संघीय संसदमा समेत आवाज उठाएको भए पनि स्थानीयले अहिलेसम्म ठोस सुधारको अनुभूति गर्न सकेका छैनन्।

ग्रामीण क्षेत्रमा एनटी फाइबर विस्तार गर्न माग

उमाकुण्ड गाउँपालिकाका गुम्देल, वाम्ती, कुभुकास्थली, भुजी र प्रीतिलगायतका क्षेत्रमा टेलिफोन नेटवर्क तथा इन्टरनेट सेवा विस्तार गर्न स्थानीयले माग गरेका छन्।

त्यस्तै, गोकुलगंगा गाउँपालिकाका देउराली, गर्जाङ, चुचुरे, ठोसे, रस्नालु, बेताली र नामाडीजस्ता प्रमुख व्यापारिक केन्द्रमा तत्काल एनटी फाइबर इन्टरनेट सेवा पुर्‍याउनुपर्ने उनीहरूको माग छ।

गोकुलगंगा गाउँपालिका–४ बेतालीका विनोद फुयालले ग्रामीण क्षेत्रका नागरिक अझै भरपर्दो सञ्चार सेवाबाट वञ्चित रहेको बताए। प्रमुख व्यापारिक केन्द्र र बस्तीमै गुणस्तरीय इन्टरनेट सेवा नहुँदा दैनिक कामकाज, व्यवसाय तथा सञ्चारमा समस्या भइरहेको उनको भनाइ छ।

स्थानीयले टेलिफोन नेटवर्कको क्षमता विस्तार, टावरमा थप उपकरण जडान तथा एनटी फाइबर सेवा विस्तार गरी ग्रामीण क्षेत्रका नागरिकलाई पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउन नेपाल टेलिकमसँग माग गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor