जनकपुरधाम । दीपावली र छठ पर्व नजिकिएसँगै जनकनन्दनी गाउँपालिका–४ खजुरीका कुमाल समुदायलाई माटाका सामग्री बनाउन भ्याइनभ्याइ भएको छ । चाडपर्वमा माग बढ्ने भएकाले स्थानीय कुमालहरू बिहानदेखि साँझसम्म माटाका दियो, कलश, घैँटो, हाँडी, धुपौरो, हात्ती, कोसिया, कुर्वार र मट्का बनाउन व्यस्त छन् ।
बिहानैदेखि कोही माटो मुछ्न त कोही चक्र घुमाएर विभिन्न आकारका सामग्री बनाउन जुटेका छन् । वर्षभरि सुस्त रहने कारोबार चाडपर्वका बेला बढ्ने भएकाले उनीहरू अहिले उत्पादनमा केन्द्रित भएका हुन् ।
स्थानीय पृतम पण्डितका अनुसार माटाका सामग्रीको बिक्री चाडपर्वको समयमा मात्रै राम्रो हुने गरेको छ । उनले भनिन्, “कारोबार वर्षभरि सुस्त रहन्छ, चाडपर्वको समयमा मात्र बिक्री हुन्छ । त्यसैले अहिले पाला बनाउन हामी व्यस्त छौँ ।”
स्थानीय सुन्दर पण्डितले माटाका सामग्री निर्माण आफ्नो परिवारको जीविकोपार्जनसँगै पुस्तौँदेखि चल्दै आएको पुख्र्यौली पेसा र पहिचानसँग जोडिएको बताए । उनका अनुसार माटोका सामग्री बनाउने सीप र संस्कृति नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु पनि आवश्यक छ ।
अयोधि पण्डितले दसैँदेखि छठसम्म माटाका भाँडा बिक्री गरेर खर्च कटाउँदा करिब एक लाख रुपैयाँसम्म आम्दानी हुने बताए । चाडपर्वको समयमा राम्रो बिक्री हुने भएकाले अन्य काम थाती राखेर यही पेसामा लागेको उनको भनाइ छ ।
तर, प्लास्टिक, स्टिल र आल्मुनियमका सामग्रीको प्रयोग बढ्दै जाँदा परम्परागत माटाका भाँडाकुँडाको बजार खुम्चिँदै गएको कुमाल समुदायका अगुवा रामनारायण पण्डित बताउँछन् । पहिले पानी राख्न घैँटो, खाना पकाउन हाँडी र पूजाआजामा कलश तथा दीपावलीमा दियो अनिवार्यजस्तै भए पनि अहिले आधुनिक सामग्रीले तिनको स्थान लिन थालेको उनले बताए ।
चाडपर्वमा माग बढे पनि वर्षभरि यही पेसाबाट परिवारको खर्च धान्न कठिन रहेको समुदायको भनाइ छ । परम्परागत सीप, संस्कृति र पुख्र्यौली पेसाको संरक्षणका लागि राज्य, स्थानीय सरकार र उपभोक्ताले माटाका सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया