काठमाडौं । बलिउड अभिनेत्री दिशा पाटनी आफ्नो फिटनेस र सुन्दरताका कारण सधैँ चर्चामा रहन्छिन् । उनको फिटनेस जीवनशैली र खानपानबारे प्रशंसकहरूमा चासो रहने गरेको छ । पछिल्लो समय भने उनले पिउने पानीको मूल्यलाई लिएर चर्चा भइरहेको छ ।
मिडिया रिपोर्टहरूका अनुसार दिशा पाटनीले हप्तामा करिब पाँचपटक ‘ब्लिङ एचटूओ स्पार्कलिङ वाटर’ पिउने गरेको दाबी गरिएको छ । उक्त पानीको ७५० मिलिलिटरको एउटा बोतलको मूल्य ५ हजारदेखि २८ हजार रुपैयाँसम्म पर्ने बताइएको छ । तर, दिशाले नियमित रूपमा यही पानी पिउने गरेको दाबीको स्वतन्त्र पुष्टि भएको छैन ।
फिटनेसका लागि चर्चित भारतीय क्रिकेटर विराट कोहलीको नाम पनि प्रिमियम पानीसँग जोडिने गरेको छ । रिपोर्टअनुसार उनले फ्रान्सको आल्प्स क्षेत्रबाट आउने ‘इभियन नेचुरल मिनरल वाटर’ प्रयोग गर्ने गरेका छन् । यसको मूल्य बजारअनुसार प्रतिलिटर २४५ रुपैयाँदेखि ४ हजार रुपैयाँसम्म पर्ने बताइएको छ ।
सामान्य मानिसका लागि पानी दैनिक जीवनको आधारभूत आवश्यकता हो । तर, सेलिब्रिटीहरूको जीवनशैलीमा महँगो ब्रान्डका पानीसमेत विशेष उपभोग्य वस्तुका रूपमा चर्चामा आउने गरेका छन् । दिशा र विराटले पिउने भनिएको पानीको मूल्यले उनीहरूको विलासी जीवनशैलीबारे थप चासो बढाएको छ ।
प्रतिक्रिया