काठमाडौं । बुढानीलकण्ठ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने उद्देश्यसहित बालमैत्री स्थानीय शासन कार्यान्वयन, घोषणा तथा दिगोपनासम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्य तथा उपप्रमुख अनिता लामाको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा सहजकर्ता, वडाध्यक्ष, जनप्रतिनिधि, विभिन्न सरोकारवाला निकायका प्रतिनिधि तथा बालबालिकाको सहभागिता रहेको थियो।
कार्यक्रममा नगरपालिकालाई बालमैत्री घोषणा गर्न आवश्यक सूचक, तिनको कार्यान्वयन अवस्था, बालअधिकार संरक्षण तथा घोषणा भएपछि पनि प्राप्त उपलब्धिलाई दिगो बनाउने उपायबारे छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मिठाराम अधिकारीले बालबालिका देशको भविष्य भएकाले उनीहरूको अधिकार, शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागितालाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।
उहाँले भन्नुभयो, “बालबालिकाले सुरक्षित वातावरणमा हुर्कन, गुणस्तरीय शिक्षा प्राप्त गर्न र आफ्नो क्षमता विकास गर्ने अवसर पाउनुपर्छ। बालमैत्री नगरपालिका घोषणा गर्नु मात्रै ठूलो कुरा होइन, त्यसलाई व्यवहारमा कार्यान्वयन गर्दै दिगो बनाउनु हाम्रो मुख्य जिम्मेवारी हो। यसका लागि नगरपालिका आवश्यक नीति, योजना र कार्यक्रमसहित अघि बढ्नेछ।”
त्यसैगरी, उपप्रमुख अनिता लामाले बालमैत्री स्थानीय शासन कार्यान्वयनमा जनप्रतिनिधि, विद्यालय, अभिभावक, संघसंस्था र स्वयं बालबालिकाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “बालमैत्री शासन कुनै एक निकायको प्रयासले मात्र सम्भव हुँदैन। बालबालिकाका आवश्यकता र आवाजलाई योजना निर्माणदेखि कार्यान्वयनसम्म समेट्नुपर्छ। सबै सरोकारवालाको सहकार्य र निरन्तर निगरानीबाट मात्रै बालमैत्री नगरपालिकाको लक्ष्य दिगो बनाउन सकिन्छ।”
कार्यक्रममा बालमैत्री स्थानीय शासनका सूचक पूरा गर्न आवश्यक काम, चुनौती र आगामी कार्ययोजनाबारे समेत छलफल भएको थियो।
सहभागीहरूले बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउने वातावरण निर्माण गर्न सके बुढानीलकण्ठलाई बालमैत्री नगरपालिकाका रूपमा स्थापित गर्न सकिने धारणा राखेका थिए।
कार्यक्रमले बालमैत्री स्थानीय शासन कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै नगरपालिकालाई बालमैत्री घोषणा गर्ने अभियानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया