काठमाडौं । अर्काको नाम प्रयोग गरी नेपाल प्रहरीका एक डीआईजीले ४० लाख रुपैयाँ घुस मागेको भन्दै झुटो उजुरी दिएको आरोपमा रुकुम पश्चिमका एक व्यक्तिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जरिवाना गरेको छ।
आयोगका अनुसार आठबिसकोट नगरपालिका–५ का दीपक पुनमगरले एबी राई (आङबाबु राई) को नाम र हस्ताक्षर प्रयोग गरी असम्बन्धित व्यक्तिविरुद्ध काल्पनिक घटना बनाएर उजुरी दिएका थिए।
उक्त उजुरीमा एक डीआईजीले आफू अध्यक्ष रहेको सहकारीबाट लिएको ऋणको भुक्तानी माग्दा उल्टै मुद्दा मिलाइदिने भन्दै ४० लाख रुपैयाँ घुस मागेको आरोप लगाइएको थियो। त्यसमध्ये १५ लाख रुपैयाँ नगद र बाँकी रकम कान्छी श्रीमतीको नाममा चेकमार्फत माग गरिएको दाबी उजुरीमा थियो।
आयोगले उजुरीमा उल्लेख गरिएको नाम र ठेगानाका आधारमा अनुसन्धान अघि बढाउँदा एबी राईले आफूले उजुरी नदिएको र त्यसमा रहेको हस्ताक्षरसमेत आफ्नो नभएको बताएका थिए।
थप अनुसन्धानका क्रममा वास्तविक उजुरीकर्ता दीपक पुनमगर रहेको खुलेपछि आयोगले १७ असारमा उनीसँग बयान लिएको थियो। बयानका क्रममा पुनमगरले राईको नामबाट आफूले नै झुटो उजुरी दिएको स्वीकार गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।
अनुसन्धानका क्रममा पुनमगर र राई दुवैले डीआईजीबाट कुनै धम्की नआएको र मुद्दा मिलाइदिने भन्दै रकमसमेत नमागिएको बयान दिएका थिए।
अख्तियारले अर्काको नाम र हस्ताक्षर प्रयोग गरी सम्बन्धित व्यक्तिलाई दुःख दिने नियतले झुटो उजुरी दिएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४९ लगायतका कानुनी व्यवस्थाबमोजिम पुनमगरलाई २ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
उक्त कानुनी व्यवस्थामा कसैलाई हानि–नोक्सानी पुर्याउने वा दुःख दिने नियतले आधारहीन झुटो उजुरी दिएको पुष्टि भएमा पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ।
अख्तियारका प्रवक्ता न्यौपानेका अनुसार काल्पनिक घटना बनाएर झुटो उजुरी दिएको आरोपमा जरिवाना गरिएका घटना निकै कम छन्। उनले आफू आयोगमा कार्यरत तीन वर्षको अवधिमा यस्तो कारबाही भएको घटना जानकारीमा नरहेको बताएका छन्।
प्रतिक्रिया