चीन भ्रमणमा आईपीडीएफको २१ सदस्यीय टोली सहभागी, ४० भन्दा बढी देशका प्रतिनिधिसँग अन्तर्राष्ट्रिय सहकार्यबारे छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८३, शुक्रबार ०७:४५

काठमाडौं । अन्तर्राष्ट्रिय परियोजना विकास मञ्च (आईपीडीएफ) को २१ सदस्यीय टोली चीनमा आयोजित अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएको छ। अक्टोबर २५ देखि २८, २०२६ सम्म चीनमा रहेको टोलीले कृषि यान्त्रिकीकरण, प्रविधि, व्यापार, विकास र अन्तर्राष्ट्रिय सहकार्यसम्बन्धी कार्यक्रममा सहभागिता जनाएको हो।

‘चाइना एन्ड फरेन कन्ट्री एग्रिकल्चरल मेसिनरी ट्रेड कन्फरेन्स’ नामक कार्यक्रममा ४० भन्दा बढी देशका प्रतिनिधि सहभागी भएका थिए। कार्यक्रममा कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग, यान्त्रिकीकरण, अन्तरदेशीय व्यापार तथा विभिन्न देशबीच सहकार्य विस्तारका विषयमा छलफल भएको थियो। संयुक्त राष्ट्रसंघीय दिगो कृषि यान्त्रिकीकरण केन्द्र (सीएसएएम) लगायतका संस्थाको सहभागिताले कार्यक्रमलाई अन्तर्राष्ट्रिय महत्त्व प्रदान गरेको थियो।

आईपीडीएफका अध्यक्ष मुकुन्द ढुंगानाले चीनको विकास, प्रविधि र पूर्वाधार निर्माणबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए। उनले भने, “चीनले छोटो समयमै पूर्वाधार, उद्योग, प्रविधि, यातायात र आर्थिक विकासमा हासिल गरेको प्रगति प्रशंसनीय छ। बेइजिङ, थियानजिन र कुन्मिङलगायतका सहरको विकास प्रत्यक्ष रूपमा अवलोकन गर्दा योजनाबद्ध विकास र प्रभावकारी कार्यान्वयनको महत्त्व बुझ्ने अवसर मिल्यो। यस्ता अन्तर्राष्ट्रिय भ्रमणले नेपालका लागि नयाँ परियोजना, लगानी, प्रविधि र व्यावसायिक सहकार्यका सम्भावना पहिचान गर्न सहयोग पुर्‍याउँछन्।”

कार्यक्रममा सहभागी हुनुका साथै आईपीडीएफको टोलीले चीनका विभिन्न सहरको विकास, आधुनिक पूर्वाधार, पर्यटन, व्यापार तथा सांस्कृतिक पक्षको अवलोकन गरेको थियो। चीनको राजधानी बेइजिङको आधुनिक सहरी विकास, ऐतिहासिक तथा सांस्कृतिक सम्पदा र व्यवस्थित पूर्वाधारले टोलीलाई आकर्षित गरेको थियो। त्यसैगरी थियानजिनको औद्योगिक विकास, व्यापारिक गतिविधि तथा आधुनिक पूर्वाधार र कुन्मिङको प्राकृतिक सौन्दर्य, सहरी विकास तथा पर्यटकीय सम्भावनाबारे टोलीले जानकारी लिएको थियो।

औपचारिक कार्यक्रमसँगै टोलीले चीनका विभिन्न पर्यटकीय तथा मनोरञ्जनस्थलको भ्रमणसमेत गरेको थियो। भ्रमणले सहभागीहरूलाई चीनको आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटकीय विकासलाई नजिकबाट बुझ्ने अवसर प्रदान गरेको थियो।

अध्यक्ष ढुंगानाले भ्रमणबाट प्राप्त अनुभव र अन्तर्राष्ट्रिय सम्पर्कलाई नेपालमा परियोजना विकास, लगानी प्रवर्द्धन, पर्यटन, कृषि तथा प्रविधिको क्षेत्रमा उपयोग गर्ने बताए। उनका अनुसार आईपीडीएफले अन्तर्राष्ट्रिय संस्थाहरू, व्यवसायी, लगानीकर्ता तथा विकाससम्बन्धी निकायसँग सम्बन्ध विस्तार गर्दै नेपालमा सम्भावित परियोजनाहरू अघि बढाउने लक्ष्य राखेको छ।

आईपीडीएफको २१ सदस्यीय टोलीको यस सहभागिताले नेपाल र चीनबीच विकास, व्यापार, पर्यटन, कृषि प्रविधि तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्न थप आधार तयार गरेको मञ्चले विश्वास लिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor