नेपालका थप ६ हिमचुचुरालाई आठ हजार मिटरमाथिका हिमालको अन्तर्राष्ट्रिय मान्यता दिन माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०८३, शुक्रबार ०६:४५

काठमाडौं । नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाले नेपालमा रहेका आठ हजार मिटरभन्दा अग्ला थप ६ वटा हिमचुचुरालाई छुट्टै हिमालका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने माग गरेका छन्।

नेपाल सरकारले पर्वतारोहणका लागि खुला गरिसकेका ती चुचुराहरूलाई अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) ले छुट्टै आठ हजार मिटरभन्दा अग्ला हिमालका रूपमा मान्यता दिनुपर्ने उनको भनाइ छ।

नेपाल पर्वतारोहण संघको आतिथ्यतामा बिहीबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) को २०२६ महासभालाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले यस्तो माग गरेका हुन्।

उनले नेपाल सरकारले लामो समयदेखि ती ६ वटा चुचुरामा आरोहण अनुमति दिँदै आएको र धेरै पर्वतारोहीले सफल आरोहण गरी सरकारी प्रमाणपत्रसमेत प्राप्त गरिसकेको बताए। तर, अन्तर्राष्ट्रिय स्तरमा भने ती चुचुराहरूले छुट्टै हिमालको मान्यता पाउन नसकेको उनको भनाइ थियो।

शेर्पाका अनुसार ती ६ चुचुरामध्ये चारवटा कञ्चनजङ्घा क्षेत्रमा र अन्य दुईवटा सगरमाथा तथा ल्होत्से क्षेत्रमा पर्दछन्।

उनले ती चुचुराहरूको आफ्नै भौगोलिक पहिचान, छुट्टाछुट्टै आरोहण मार्ग र स्थानीय समुदायबाट स्थापित अलग अस्तित्व रहेको बताए। एउटा चुचुरोको आरोहणले अर्को चुचुरोको आरोहण पूरा नहुने भएकाले प्रत्येकलाई छुट्टै पर्वतारोहण उपलब्धिका रूपमा मान्यता दिनुपर्ने उनको तर्क छ।

‘आठ हजार मिटरभन्दा माथिका प्रत्येक चुचुरोमा आरोहण गर्नु असाधारण चुनौती हो। यसका लागि उच्च प्राविधिक क्षमता, अनुभव, प्रयास र सावधानीपूर्वक तयारी आवश्यक पर्छ। त्यसैले थप ६ वटा चुचुरालाई पनि छुट्टै पर्वतारोहण उपलब्धिका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिनुपर्छ,’ उनले जोड दिए।

शेर्पाले अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायलाई भौगोलिक, वैज्ञानिक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण मापदण्डका आधारमा ती ६ वटा चुचुराको छुट्टै पहिचान र मान्यताका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor