काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचार तथा टिप्पणीप्रति नेपाल प्रहरीले आपत्ति जनाएको छ। प्रहरीले पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार बनाउने र सामाजिक सञ्जालमा फैलाउने काम नगर्न आग्रह गरेको छ।
आईजीपी कार्कीको सचिवालयले बिहीबार साँझ विज्ञप्ति जारी गर्दै यस्ता अपुष्ट तथा भ्रामक सामग्रीले नागरिकमा भ्रम र नकारात्मकता फैलाउनुका साथै नेपाल प्रहरीप्रतिको विश्वास, संगठनको छवि र निष्ठामा असर पार्न सक्ने जनाएको छ।
विज्ञप्तिमा सत्य, तथ्यपरक र विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरिएको छ।
प्रहरीले पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्न र अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्नसमेत अनुरोध गरेको छ।
विज्ञप्तिमा केही सीमित व्यक्तिले सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोचका साथ भ्रामक सूचना फैलाइरहेको दाबी गरिएको छ। त्यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार अनुसन्धान तथा आवश्यक कानुनी कारबाही अघि बढाइने प्रहरीको चेतावनी छ।
नेपाल प्रहरीले कुनै पनि प्रकारको भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। साथै संगठनका सबै प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ एकताबद्ध भएर जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
प्रहरीले सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण गर्ने तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्ने आफ्नो दायित्वबाट विचलित नहुने पनि जनाएको छ।
प्रतिक्रिया