काठमाडौं । नेपालीको महान् पर्व बडादशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडादशैं आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन मनाइन्छ। दशैंको पहिलो दिन आज घरघरमा दियो, कलश र गणेश स्थापना गरी विधिपूर्वक घटस्थापना गरिँदैछ।
घटस्थापनासँगै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आराधना सुरु गरिन्छ। बिहानै नित्यकर्म समाप्त गरी चोखो स्थानबाट बालुवा वा माटो ल्याएर पूजा कोठा अथवा दशैं घरमा राखिन्छ। त्यसमा जौँ रोपेर जमरा राख्ने परम्परा छ। विजयादशमीका दिन देवीको प्रसादका रूपमा टीका, जमरा र फूल ग्रहण गर्ने चलन छ।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार जमरामा जौँबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन। यद्यपि, कुल परम्पराअनुसार कतिपयले जौँसँगै अन्य अन्न पनि रोप्ने गरेका छन्। जमरालाई आयुर्वेदिक औषधिमा समेत प्रयोग गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष घटस्थापनाको साइत बिहान ११ः४७ बजे रहेको छ। दिनभर चित्रा नक्षत्र पर्ने भएकाले शास्त्रीय मान्यताअनुसार मध्याह्नकालको अभिजित् मुहूर्तमा घटस्थापनाको साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले बताएका छन्।
सूर्योदयकालमा प्रतिपदा परेको दिन घटस्थापना गर्नुपर्ने शास्त्रीय मान्यताका आधारमा आजको दिन तय गरिएको समितिले जनाएको छ। सामाजिक सञ्जालमा घटस्थापना सोमबार गर्ने भन्ने चर्चा शास्त्रसम्मत नभएको पनि अध्यक्ष भट्टराईले बताएका छन्।
आज स्थापना गरिने कलशको जललाई पवित्र मानेर विजयादशमीका दिन देवीको प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ। नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा दुर्गा देवीको पूजा आराधना गरिन्छ। महाकालीलाई शक्ति, महालक्ष्मीलाई धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ।
दुर्गा पक्षका नौ दिनमा देवीका नौवटा स्वरूपको विशेष पूजा आराधना गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गरिन्छ। यी नौ स्वरूपलाई नवदुर्गा भनिन्छ।
दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। धर्मशास्त्रविद् गौतमका अनुसार दुर्गा पूजा र दशैं कुनै जात वा धर्मविशेषमा सीमित पर्व होइन।
दुर्गाको प्रतीकका रूपमा घटस्थापनादेखि महानवमीसम्म नौ दिन नौवटी कन्याको पूजा गर्ने परम्परा पनि छ। धार्मिक विधिअनुसार दशैंको सातौँ दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीमा दसैँ घर, कोत तथा शक्तिपीठमा विशेष पूजा गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र र स्तुतिको पाठ गर्ने चलन छ।
यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआजा गर्ने भक्तजनको भीड लाग्ने गर्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमी कात्तिक ४ गते बुधबार परेको छ। उक्त दिन देवी विसर्जनको साइत बिहान ८ः४९ बजे र टीका प्रसाद ग्रहणका लागि उत्तम साइत बिहान १०ः२६ बजे रहेको छ।
विजयादशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र फूल प्रसाद ग्रहण गरी आशीर्वाद लिने परम्परा छ। कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा गरी रातभर जाग्राम बस्ने चलनसमेत छ। धार्मिक विश्वासअनुसार यस दिन जाग्राम बस्ने व्यक्तिलाई लक्ष्मीले धनधान्य र समृद्धि प्रदान गर्छिन्।
घटस्थापनाका दिन राखिएको जमरा कोजाग्रत पूर्णिमाका दिन चोखो स्थानमा लगी विसर्जन गर्ने परम्परा छ।
परम्पराअनुसार काठमाडौंको हनुमानढोका दरबारस्थित दशैं घरमा पनि आजदेखि विधिपूर्वक जमरा राखेर दुर्गा देवीको पूजा आराधना सुरु गरिँदैछ। हनुमानढोका दरबार हेरचाह अड्डाकी प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार चित्रा नक्षत्र र वैधृति योगको पूजा तथा हवनपछि समितिले निर्धारण गरेको साइतमा घटस्थापना गरिनेछ।
दशैंलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ। रोजगारी, अध्ययन तथा अन्य कामका लागि घरबाहिर रहेका मानिसहरू यस अवसरमा आफ्नो थातथलो फर्केर परिवारसँग पर्व मनाउने गर्छन्। विद्यालय तथा शैक्षिक संस्थामा बिदा सुरु भएसँगै राजधानी र सहरी क्षेत्रबाट गाउँघर फर्कने यात्रुको चहलपहल पनि बढेको छ।
धार्मिक आस्था, सांस्कृतिक परम्परा र पारिवारिक आत्मीयताको संगमका रूपमा मनाइने बडादशैंले नेपाली समाजमा आपसी सद्भाव, एकता र मेलमिलापको सन्देश दिँदै आएको छ।
प्रतिक्रिया