काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट प्रहरीले बिहीबार साँझ २१ किलो सुन बरामद गरेको छ। विशेष सुराकका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले छापा मारेर ठूलो परिमाणमा सुन बरामद गरेको हो।
प्रहरी स्रोतका अनुसार बरामद सुनमध्ये ११ किलो बिक्रीका लागि तयार पारिएको प्रशोधित अवस्थामा र १० किलो प्रशोधन गर्न बाँकी कच्चा वा अर्धप्रशोधित अवस्थामा रहेको छ।
सुन बरामद भएपछि अवैध कारोबारमा संलग्न रहेको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका व्यक्तिहरूको सङ्ख्या, परिचय तथा उनीहरूको भूमिकाबारे भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।
बरामद सुन कहाँबाट ल्याइएको हो, यसको कारोबारमा को–को संलग्न छन् र यसको पछाडि संगठित तस्करी गिरोहको संलग्नता छ वा छैन भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
घटनाको थप विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार विशेष पत्रकार सम्मेलन आयोजना गर्ने तयारी गरेको जनाइएको छ। पत्रकार सम्मेलनमार्फत पक्राउ परेका व्यक्तिहरू, बरामद सुन तथा अनुसन्धानबाट खुलेका तथ्यबारे आधिकारिक जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।
यद्यपि, सुनको स्रोत, ओसारपसारको सञ्जाल र सम्भावित संलग्न व्यक्तिहरूबारे प्रहरीको आधिकारिक विवरण सार्वजनिक भएपछि मात्रै घटनाको वास्तविकता स्पष्ट हुनेछ।
प्रतिक्रिया