बुढानीलकण्ठ । बुढानीलकण्ठ नगरपालिकामा बालमैत्री स्थानीय शासन (CFLG) प्रक्रियालाई थप प्रभावकारी, व्यवस्थित र संस्थागत रूपमा सुदृढ बनाउने उद्देश्यले सामाजिक संघ–संस्थाको सञ्जालीकरण तथा उपलब्ध स्रोतहरूको नक्साङ्कनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बालमैत्री स्थानीय शासनको प्रभावकारी कार्यान्वयन, बालबालिकाको हकहित संरक्षण तथा प्रवर्द्धन, सामाजिक संघ–संस्थाबीच समन्वय र सहकार्य विस्तारका विषयमा छलफल गरिएको थियो। साथै, नगरपालिकाभित्र बालबालिकाको क्षेत्रमा कार्यरत संघ–संस्था, उपलब्ध सेवा, स्रोत तथा कार्यक्रमहरूको पहिचान गरी तिनको व्यवस्थित र प्रभावकारी उपयोग गर्ने विषयमा समेत जोड दिइएको थियो।
बालमैत्री स्थानीय शासनलाई दिगो रूपमा कार्यान्वयन गर्न स्थानीय सरकार, सामाजिक संघ–संस्था तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको औँल्याउँदै कार्यक्रमले उपलब्ध स्रोत र सेवाको एकीकृत उपयोग, दोहोरोपन न्यूनीकरण तथा बालबालिकाको आवश्यकता र प्राथमिकताअनुसार कार्यक्रम सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सामाजिक संघ–संस्थाको सञ्जालीकरण र स्रोत नक्साङ्कनबाट नगरपालिकाभित्र बालबालिकासम्बन्धी सेवा तथा कार्यक्रमको अवस्था पहिचान गर्न, आवश्यकताअनुसार योजना बनाउन र बालमैत्री स्थानीय शासनका सूचकहरू हासिल गर्न थप आधार तयार हुने विश्वास गरिएको छ।
कार्यक्रमले बुढानीलकण्ठ नगरपालिकामा बालबालिकाको अधिकार सुनिश्चित गर्दै उनीहरूका लागि सुरक्षित, समावेशी र बालमैत्री वातावरण निर्माण गर्ने अभियानलाई संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया