दाङ। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले स्थानीय तहलाई जनप्रतिनिधिविहीन हुन नदिन तोकिएकै समयमा निर्वाचन गर्नुपर्ने बताएका छन्।
प्रेस चौतारी नेपाल दाङ शाखाले मङ्गलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले स्थानीय र प्रदेश तहको निर्वाचन एकैपटक गर्न नहुने धारणा राखे।
स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वर्ष जेठ ५ गते सकिने भएकाले वैशाखभित्रै निर्वाचन सम्पन्न गर्नुपर्ने एमालेको स्पष्ट मान्यता रहेको उनले बताए।
प्रदेश निर्वाचन आगामी मङ्सिरमा हुने भए पनि स्थानीय तहलाई छ महिनासम्म जनप्रतिनिधिविहीन राख्न नसकिने उनको भनाइ थियो। त्यसो हुँदा राष्ट्रियसभा र राष्ट्रपतिको निर्वाचनसमेत प्रभावित हुन सक्ने उनले उल्लेख गरे।
वर्तमान संविधान नागरिक अधिकारका दृष्टिले समृद्ध रहेको बताउँदै पोखरेलले नागरिकका अधिकार कटौती गरेर वा संविधानका आधारभूत जग कमजोर बनाएर नभई संविधानलाई थप सुदृढ बनाउने गरी संशोधन गर्नुपर्ने धारणा राखे।
प्रतिक्रिया