काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित उनका निकटस्थ व्यक्ति तथा नातेदारका विभिन्न निवासमा एकैपटक छापा मारेको छ।
विभागको टोलीले पूर्वप्रधानन्यायाधीश जबरासहित उनी निकट मानिएका नवराज थपलिया, दिपक तिमल्सिना र नारायण दाहालका घरमा टोली परिचालन गरी अनुसन्धानका क्रममा छापा मारेको हो।
स्रोतका अनुसार छापा मार्ने क्रममा विभागको टोली जबराका भाइ प्रभुशमशेर जबरा र ज्वाइँ नवीन बस्नेतको निवासमा समेत पुगेको थियो। गैरकानुनी सम्पत्ति आर्जन तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विभागले विभिन्न स्थानमा टोली परिचालन गरी खोजतलास गरेको बताइएको छ।
छापा मार्ने क्रममा अनुसन्धानसँग सम्बन्धित केही महत्वपूर्ण कागजातसमेत बरामद भएको दाबी गरिएको छ। विभागले अनुसन्धानको सिलसिलामा प्राप्त कागजात तथा अन्य सामग्रीको अध्ययन गरिरहेको स्रोतले जनाएको छ।
यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यराति उनकै निवासबाट नियन्त्रणमा लिएको थियो। करिब १२ घण्टा नियन्त्रणमा राखेपछि उनलाई छाडिएको थियो।
जबरामाथि विभिन्न विषयमा अनुसन्धान अघि बढिरहेका बेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग जोडिएका व्यक्ति तथा नातेदारका निवासमा समेत छापा मारेर अनुसन्धानलाई अगाडि बढाएको हो।
यद्यपि, छापा तथा अनुसन्धानमा संलग्न व्यक्तिहरूमाथि लागेको आरोप पुष्टि हुन बाँकी छ। विभागको अनुसन्धानबाट प्राप्त विवरण र प्रमाणका आधारमा थप प्रक्रिया अघि बढ्ने बताइएको छ।
प्रतिक्रिया