काठमाडौं । मन्त्रिपरिषद्को गत असोज ९ गते बसेको बैठकले स्वच्छ ऊर्जा, विकास वित्त, इन्जिनियरिङ सेवा तथा जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दालगायत विभिन्न पाँच महत्वपूर्ण निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेली सरकारबाट प्राप्त हुने करिब १० करोड रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिए।
त्यस्तै, मन्त्रिपरिषद्ले पूर्वाधार विकास मन्त्रालयअन्तर्गत नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) दोस्रो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ।
बैठकले वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ समेत स्वीकृत गरेको छ। विकास आयोजनामा वैकल्पिक वित्तीय स्रोत परिचालनलाई व्यवस्थित गर्ने उद्देश्यले उक्त नियमावली स्वीकृत गरिएको हो।
यसैगरी, जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।
उक्त प्रतिवेदनका आधारमा सम्बन्धित विषयमा आवश्यक प्रक्रिया अघि बढाउने जिम्मेवारी गृह मन्त्रालयलाई दिइएको छ।
मन्त्रिपरिषद्ले सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा, समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको छ।
मन्त्रिपरिषद्का निर्णयहरू यसप्रकार छन् :
१. नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेली सरकारबाट प्राप्त हुने करिब १० करोड नेपाली रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्न स्वीकृति दिने।
२. नेपाल इन्जिनियरिङ सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) दोस्रो संशोधन नियमहरू, २०८३ स्वीकृत गर्ने।
३. वैकल्पिक विकास वित्त परिचालन नियमावली, २०८३ स्वीकृत गर्ने।
४. जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेस गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गृह मन्त्रालयमा पठाउने।
५. सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा, समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
प्रतिक्रिया