काठमाडौं । प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको आधारका रूपमा स्थापित गर्दै ३ वर्षदेखि ९ वर्षसम्मका बालबालिकाको स्याहार, सिकाइ र गुणस्तरीय शिक्षाका लागि छुट्टै ‘अर्ली ग्रेड स्कुल’ संरचना कायम गर्नुपर्नेमा शिक्षा क्षेत्रका सरोकारवालाले जोड दिएका छन् ।
एसोसिएसन अफ प्रि–स्कुल एजुकेटर्स नेपाल (अपेन) को आयोजनामा काठमाडौंको रविभवनस्थित होटल क्राउन इम्पेरियलमा सम्पन्न ‘सिम्पोजियम अन अर्ली ग्रेड एजुकेसन एन्ड पोलिसी फ्रेमवर्क’ मा सहभागी विज्ञ, सांसद, शैक्षिक अभियन्ता तथा बाल विकास क्षेत्रका सरोकारवालाले प्रारम्भिक बाल शिक्षालाई केवल विद्यालय प्रवेशपूर्वको तयारीका रूपमा नभई बालबालिकाको सिकाइ, व्यवहार, सामाजिक विकास तथा समग्र व्यक्तित्व निर्माणको आधारका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा प्रारम्भिक बाल शिक्षाका लागि स्पष्ट नीतिगत संरचना, राज्यको दायित्व, शिक्षकको क्षमता विकास, संस्थागत व्यवस्था, लगानी तथा गुणस्तरीय सिकाइ वातावरण सुनिश्चित गर्नुपर्ने विषयमा व्यापक छलफल भएको थियो ।
अपेनका केन्द्रीय अध्यक्ष कृष्णकुमार बोहराको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सभापति डा. ओजस्वी शेरचन प्रमुख अतिथिका रूपमा सहभागी थिइन् । कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू गुरु प्रसाद बराल र रन्जु दर्शना, शिक्षा क्षेत्रका विज्ञ, शैक्षिक अभियन्ता तथा बाल विकास क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा पूर्वसचिव डा. महाश्रम शर्माले ‘इसीडी पोलिसी रिभ्यु एन्ड फ्युचर डिरेक्सन’, अपेनका संस्थापक अध्यक्ष बद्रीप्रसाद दाहालले ‘अर्ली ग्रेड एजुकेसन इकोसिस्टम’, शैक्षिक अभियन्ता अभिषेक घिमिरेले ‘अर्ली ग्रेड एजुकेसन थ्रु कम्युनिटी पर्सपेक्टिभ’, लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार इन्द्रप्रसाद काफ्लेले ‘स्पिरिचुअल पिस एन्ड भ्यालुज इन अर्ली ग्रेड स्कुल एजुकेसन’ तथा ईसीडी विज्ञ डा. मीनाक्षी दाहालले ‘सिन्थेसिस एन्ड रिमार्क्स’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
सञ्चारकर्मी समा थापाले सहजीकरण गरेको प्यानल छलफलमा प्रतिनिधिसभा सदस्य गुरु प्रसाद बराल, प्रतिनिधिसभा सदस्य रन्जु दर्शना, शैक्षिक अभियन्ता अभिषेक घिमिरे र अपेन अध्यक्ष कृष्णकुमार बोहरा सहभागी थिए ।
प्यानल छलफलमा निर्माणाधीन विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल शिक्षाको स्थान, राज्यको दायित्व, शिक्षकहरूको क्षमता विकास, संस्थागत संरचना तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिगत व्यवस्थाबारे गहन बहस भएको थियो ।
कार्यक्रममा सहभागी सरोकारवालाले अब बन्ने शिक्षा ऐनमै ३ वर्षदेखि ९ वर्षसम्मका बालबालिकाको स्याहार तथा गुणस्तरीय शिक्षाका लागि ‘अर्ली ग्रेड स्कुल’ संरचनालाई स्पष्ट रूपमा समेट्नुपर्ने माग गरेका छन् ।
उनीहरूले प्रारम्भिक बाल शिक्षालाई केवल विद्यालय प्रवेशपूर्वको तयारीका रूपमा बुझ्ने परम्परागत दृष्टिकोण परिवर्तन गर्नुपर्ने भन्दै बालबालिकाको प्रारम्भिक उमेर नै उनीहरूको सिकाइ, व्यवहार, सामाजिक सम्बन्ध, भावनात्मक विकास र व्यक्तित्व निर्माणको महत्वपूर्ण चरण भएकाले यसलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने बताए ।
नीति निर्माण गर्दा बालबालिकाको वास्तविक आवश्यकता, शिक्षकको भूमिका, सिकाइ वातावरण र व्यावहारिक कार्यान्वयनको पक्षलाई केन्द्रमा राख्नुपर्नेमा समेत सरोकारवालाले जोड दिएका छन् ।
प्रारम्भिक बाल शिक्षामा उपयुक्त लगानी, दक्ष तथा गुणस्तरीय जनशक्ति, प्रभावकारी संस्थागत संरचना र स्पष्ट नियमन आवश्यक रहेको कार्यक्रममा औंल्याइएको छ ।
स्पष्ट नीति र राज्यको दायित्वबिना प्रारम्भिक बाल शिक्षामा अपेक्षित सुधार तथा शैक्षिक उपलब्धि हासिल गर्न कठिन हुने भन्दै सरोकारवालाले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा यस विषयलाई व्यवहारिक, स्पष्ट र बालकेन्द्रित ढंगले सम्बोधन गर्न सरकार तथा नीति निर्माताको ध्यानाकर्षण गराएका छन् ।
अपेनले प्रारम्भिक बाल शिक्षाको नीति, संरचना र भविष्यका विषयमा सरोकारवालाबीच बहस तथा संवाद बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ ।
कार्यक्रमले प्रारम्भिक बाल शिक्षालाई विद्यालय शिक्षाको प्रवेशद्वार मात्र नभई समग्र शैक्षिक विकासको बलियो आधारका रूपमा स्थापित गर्न स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको सन्देश दिएको छ ।

प्रतिक्रिया