नोजाको बाह्रौँ अनर अवार्ड : बैंकिङ विज्ञ कमल खरेलदेखि स्वास्थ्य क्षेत्रमा कृष्ण घिमिरेसम्म सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ आश्विन २०८३, सोमबार १९:०२

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा) ले विभिन्न क्षेत्रका उत्कृष्ट तथा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गर्दै बाह्रौँ नोजा अनर अवार्ड वितरण गरेको छ । संघले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई नोजा अनर अवार्ड प्रदान गर्दै आएको छ ।

यस वर्ष पनि कला, साहित्य, पत्रकारिता, बैंकिङ तथा सहकारी, व्यवसाय, सामाजिक सेवा, स्वास्थ्य, उद्यमशीलता लगायतका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।

नोजाले हरेक वर्ष एकजनालाई प्रदान गर्दै आएको लाइफटाइम अचिभमेन्ट अवार्ड यस वर्ष बैंकिङ तथा सहकारी क्षेत्रका विज्ञ कमल खरेललाई प्रदान गरिएको छ । लामो समय बैंक तथा वित्तीय क्षेत्रमा सेवा गरेका खरेल बैंकिङ तथा सहकारी क्षेत्रका विज्ञका रूपमा परिचित छन् ।

यसैगरी हरेक वर्ष तीनजनालाई प्रदान गरिने विशिष्ट अनर अवार्ड वरिष्ठ गायक आनन्द कार्की, निर्माण व्यवसायी बलिभद्र राना र गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाललाई प्रदान गरिएको छ ।

दुई जनालाई प्रदान गरिने विशेष अभियन्ता अनर अवार्ड वरिष्ठ समाजसेवी डा. लक्ष्मीप्रसाद राई र वरिष्ठ उद्यमी कुमार कार्कीलाई प्रदान गरिएको छ ।

वर्षका उत्कृष्ट सिर्जनातर्फ उत्कृष्ट गायिकाको अवार्ड चाँदनी शाक्यले प्राप्त गरेकी छन् । सन्तोष श्रेष्ठले वर्ष उत्कृष्ट संगीतकारको अवार्ड प्राप्त गर्दा झरना रिसाल उत्कृष्ट अभिनेत्री र विकास लामिछाने उत्कृष्ट अभिनेता घोषित भएका छन् ।

त्यस्तै वर्ष विशिष्ट साहित्यकारको अनर अवार्ड त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलाई प्रदान गरिएको छ । वर्ष सामाजिक अवार्ड दिनेश न्यौपानेलाई प्रदान गरिएको छ ।

युवा व्यवसायीतर्फको अवार्ड सरोज महर्जन, सहाङ लावती लिम्बु र बैकुण्ठ दाहालले प्राप्त गरेका छन् । उत्कृष्ट मेकअप आर्टिस्ट अनर अवार्ड रिता तामाङलाई प्रदान गरिएको छ ।

यसैगरी महिला उद्यमशीलता तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका रिता अवाल, बिन्दु ज्ञवाली, सोभिता धमला, शीतल शर्मा र कुमुद भट्टलाई उत्कृष्ट महिला अनर अवार्डबाट सम्मानित गरिएको छ ।

स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याएबापत ओम चाबहिल डेन्टल हस्पिटलका सञ्चालक कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सम्मान अनर अवार्ड’ प्रदान गरिएको छ । दन्त स्वास्थ्य सेवाको विस्तार, गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्यांकन गर्दै घिमिरेलाई उक्त सम्मान प्रदान गरिएको हो ।

हरेक वर्ष एकजना पत्रकारलाई प्रदान गरिँदै आएको ११ हजार १११ रुपैयाँ राशिको पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार सामना देवकोटा (अमेरिका)लाई प्रदान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)का अध्यक्ष मुकुन्द ढुंगानाले समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूको कामको सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले नोजाले हरेक वर्ष अनर अवार्ड प्रदान गर्दै आएको बताए ।

अध्यक्ष ढुंगानाले पत्रकारिता र सञ्चार क्षेत्रमा मात्रै नभई समाज निर्माणमा योगदान पुर्‍याइरहेका शिक्षा, स्वास्थ्य, कला, साहित्य, व्यवसाय, उद्यमशीलता, सामाजिक सेवा तथा अन्य क्षेत्रका व्यक्तित्वलाई एउटै मञ्चमा सम्मान गर्नु नोजाको महत्वपूर्ण पहल भएको बताए । उनले सम्मानले सम्बन्धित क्षेत्रमा थप जिम्मेवारी, उत्साह र सकारात्मक योगदानका लागि प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले समाज र राष्ट्रको विकासमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्नु आफैंमा सकारात्मक र प्रेरणादायी कार्य भएको बताए । उनले विभिन्न क्षेत्रका प्रतिभा तथा योगदानकर्तालाई पहिचान गरी सम्मान गर्ने नोजाको अभियानले समाजमा उत्कृष्ट काम गर्नेहरूलाई थप प्रोत्साहन मिल्ने धारणा राखे ।

अग्रवालले पत्रकारिता समाजलाई सही सूचना र दिशानिर्देश प्रदान गर्ने महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्दै मर्यादित, जिम्मेवार र विश्वसनीय पत्रकारिताको विकासमा सञ्चार क्षेत्रले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले प्रविधिको तीव्र विकाससँगै अनलाइन पत्रकारिताको भूमिका अझ बढ्दै गएको भन्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुली, आईटी विज्ञ हरिराम रिमाल, वरिष्ठ पत्रकार राजेन्द्र लुईटेल, महिला उद्यमी सरिता भट्टराई लगायतका अतिथिहरूले विभिन्न विधाका सम्मान तथा अवार्ड प्रदान गरेका थिए ।

नोजाले पत्रकारिता, सञ्चार तथा सामाजिक उत्तरदायित्वसँगै समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रोत्साहन र सम्मान गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

slot gacor