काठमाडौँ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले विदेशबाट खाद्यान्न आयातको स्वीकृति दिने नाममा आफ्नै ससुराको बैंक खाता प्रयोग गरी घुस लिने गरेको सनसनीपूर्ण तथ्य सार्वजनिक भएको छ। ५३ जना व्यवसायीहरूबाट २८ लाख २० हजार रुपैयाँ घुस असुल गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीसहित उनका ससुरा र दुई जना साथीहरूविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
खाद्यान्न आयात गर्न विभागबाट लिनुपर्ने अनिवार्य स्वीकृति रोकेर बार्गेनिङ गर्दै आएका अधिकारीले रकम पाएपछि मात्र स्वीकृति दिने गरेका थिए। उनले ससुरा ७६ वर्षीय पूर्वकर्मचारी वसन्तकुमार बस्यालको नाममा बैंक खाता खोलेर त्यसको एटिएम कार्ड आफैँले प्रयोग गर्दै आएका थिए। ससुरा बस्यालले पनि बयानका क्रममा आफ्नो खाता ज्वाइँले प्रयोग गर्दै आएको स्वीकार गरेका छन्।
अख्तियारको अनुसन्धान अनुसार अधिकृत अधिकारीले आफ्नै बैंक खातामा १ लाख ३९ हजार, ससुरा वसन्तकुमार बस्याल क्षेत्रीको खातामा ८ लाख ९४ हजार ५ सय, साथी रश्मिला श्रेष्ठको खातामा १४ लाख ९३ हजार ३७५ र सुरेश चौधरीको खातामा २ लाख ६९ हजार रुपैयाँ घुसबापतको रकम जम्मा गर्न लगाएका थिए। ती सबै खाताका एटिएम कार्डहरू अधिकारी आफैँले चलाउने गरेको अनुसन्धानबाट खुलेको छ।
अधिकारीको यो घुसकाण्ड गत १६ चैत २०८२ मा व्यवसायी हर्ष वंसलले अख्तियारमा उजुरी दिएपछि बाहिर आएको हो। दुई पटक गरी ५ हजार रुपैयाँ बैंक खातामै घुस लिएको प्रमाणसहित उजुरी परेपछि आयोगले अधिकारीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। पछि ५ लाख रुपैयाँ धरौटीमा छुटेका अधिकारीको मोबाइल, ह्वाट्सएपमा पैसा मागेका कुराकानी, बैंकिङ स्क्रिनसट र भौचरहरूको विस्तृत छानबिन गर्दा ५३ जना व्यवसायीबाट २८ लाखभन्दा बढी घुस असुलेको थप प्रमाण भेटिएको हो।
प्रतिक्रिया