बुढानीलकण्ठ–१० का खाद्यान्न पसलमा कडा बजार अनुगमन: म्याद नाघेका सामान र मूल्यसूचीको जाँच अध्यक्ष नवराज भट्टराईको चेतावनी: "नागरिकको स्वास्थ्यसँग खेलबाड सह्य हुँदैन, म्याद नाघेका सामान बिक्री गरे कडा कारबाही"

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ आश्विन २०८३, शुक्रबार ०५:४९

काठमाडौँ। उपभोक्ता हित संरक्षण गर्न, बजारमा हुन सक्ने सम्भावित कालोबजारी नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्रीवितरण रोक्ने उद्देश्यले बुढानीलकण्ठ नगरपालिका वडा नं. १० का विभिन्न खाद्यान्न पसलहरूमा आकस्मिक बजार अनुगमन गरिएको छ। वडा अध्यक्ष नवराज भट्टराईको नेतृत्वमा नगरपालिका तथा वडाको संयुक्त टोलीले बजार अनुगमन गरेको हो।

अनुगमनका क्रममा वडाभित्र सञ्चालित साना तथा ठूला खाद्यान्न पसल, ग्रोसरी स्टोर तथा मार्टहरूमा बिक्रीका लागि राखिएका उपभोग्य वस्तुहरूको उपभोग्य म्याद (Expiry Date), मूल्यसूचीको प्रभावकारिता तथा सामानको गुणस्तरबारे प्रत्यक्ष जाँच गरिएको थियो।

नागरिकको स्वास्थ्यसँग सम्झौता हुँदैन: वडा अध्यक्ष भट्टराई

अनुगमनका क्रममा उपभोक्ता अधिकार र बजार अनुशासनबारे स्पष्ट पार्दै वडा अध्यक्ष नवराज भट्टराईले भन्नुभयो:

“नागरिकको स्वास्थ्य र उपभोक्ता अधिकारसँग कुनै पनि बहानामा सम्झौता हुन सक्दैन। बजारमा म्याद नाघेका अखाद्य वस्तु बिक्री भइरहेको वा बढी मूल्य लिने गरिएको पाइएमा कानुन अनुसार कडा कारबाही गरिनेछ। व्यवसायीहरूलाई अनिवार्य रूपमा स्पष्ट देखिने गरी मूल्यसूची राख्न र म्याद गुज्रिएका सामान तत्काल बजारबाट हटाउन निर्देशन दिइएको छ। साथै, सम्पूर्ण उपभोक्ताहरूलाई पनि कुनै पनि सामान खरिद गर्दा उपभोग्य म्याद र मूल्यसूची अनिवार्य रूपमा हेरेर मात्र खरिद गर्न हार्दिक आग्रह गर्दछौँ।”

म्याद नाघेका सामान जफत र कडा निर्देशन

अनुगमन टोलीले जाँचका क्रममा केही पसलहरूमा फेला परेका म्याद नाघेका उपभोग्य सामग्रीहरू तत्काल नियन्त्रणमा लिएर नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ। यसका साथै दर्ता नगरी सञ्चालनमा रहेका वा मूल्यसूची नराखी कारोबार गरिरहेका व्यवसायीहरूलाई अविलम्ब दर्ता प्रक्रिया पूरा गर्न र अनिवार्य रूपमा मूल्यसूची टाँस्न कडा निर्देशन दिइएको छ।

नगरपालिका र वडा कार्यालयको यो सक्रियताले स्थानीय उपभोक्ताहरूमा सकारात्मक सन्देश प्रवाह गरेको छ। स्वच्छ, पारदर्शी र गुणस्तरीय बजार व्यवस्थापनका लागि यस्ता आकस्मिक अनुगमन कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

भर्खरै

 

 

slot gacor