काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) दानबहादुर कार्कीबीच सर्वोच्च अदालतमा भेटवार्ता भएको छ।
मंगलबार अपराह्न करिब ४ बजे सर्वोच्च अदालत पुगेका आईजिपी कार्की र प्रधानन्यायाधीश शर्माबीच करिब ४५ मिनेट छलफल भएको हो।
स्रोतका अनुसार आइतबार मध्यराति सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको वस्तुस्थितिबारे जानकारी लिन प्रधानन्यायाधीश शर्माले आईजिपी कार्कीलाई सर्वोच्चमा बोलाएका थिए।
भेटमा पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिनुको कानुनी आधार, सुरक्षा व्यवस्था तथा घटनासँग जोडिएका विषयमा छलफल भएको बुझिए पनि भेटवार्ताबारे दुवै पक्षले औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।
यसअघि सोमबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको थियो।
सर्वोच्चले न्यायपालिकाको गरिमा तथा पूर्वप्रधानन्यायाधीशको मर्यादासँग सम्बन्धित विषयमा राज्यका निकाय संवेदनशील हुनुपर्ने धारणा सार्वजनिक गरेको सन्दर्भमा प्रहरी नेतृत्व र प्रधानन्यायाधीशबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया