दाङ । दाङको देउखुरी क्षेत्रमा काट्न ठिक्क परेको धानबालीमा लगातारको वर्षा र हावाहुरीले ठूलो क्षति पुर्याएको छ। खेतमा पाकेर तयार भएको धान ढलेर पानीमा डुबेपछि किसान चिन्तित बनेका छन्।
सिँचाइ सुविधा भएका कारण असारमै धान रोपेका किसान अहिले धान भित्र्याउने तयारीमा थिए। मौसम पूर्वानुमानअनुसार वर्षापछि धान काट्ने तयारी गरिरहेका बेला निरन्तरको वर्षा र हावाहुरीले अधिकांश खेतमा धान ढलाएको छ भने कतिपय खेत जलमग्न भएका छन्।
वर्षभरि खाने अन्न खेतमै ढलेर भिजेपछि उत्पादन घट्ने र परिवारको खाद्यान्न व्यवस्थापनमा समेत समस्या हुने भन्दै किसानले चिन्ता व्यक्त गरेका छन्। लमही नगरपालिका, राप्ती गाउँपालिका र गढवा गाउँपालिकाका विभिन्न क्षेत्रमा धान पाकेर पहेँलपुर भए पनि वर्षाका कारण किसानले समयमै भित्र्याउन सकेका छैनन्।
किसानका अनुसार देउखुरी क्षेत्रमा धानबालीमा वर्षेनि यस्तै समस्या दोहोरिने गरेको छ। कहिले काटेर भित्र्याउन ठिक्क परेको धान पानीले भिज्ने र कहिले हावाहुरी तथा डुबानका कारण क्षति हुने गरेको उनीहरूको भनाइ छ।
किसानले डुबानको दीर्घकालीन समाधान गर्न तथा धानबालीमा हुने क्षतिबाट जोगाउन प्रभावकारी कृषि बीमाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
पालिकाहरूले भने वर्षा र हावाहुरीबाट भएको धानबालीको क्षतिको विवरण तत्काल संकलन सुरु गर्ने र क्षतिको अवस्था हेरेर किसानलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने बताएका छन्।
प्रतिक्रिया