काठमाडौं। मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालको आधार शिविर क्षेत्रमा गएको हिमपहिरोमा परी बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। घटनामा अझै १४ जना सम्पर्कविहीन रहेको जनाइएको छ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका अनुसार उद्धार टोली हिमलुङ क्षेत्रमा पुगेर खोजी तथा उद्धार कार्य अघि बढाएको हो। सोही क्रममा दुई जनाको शव फेला परेको जनाइएको छ। मृतकको पहिचान भने अझै खुल्न सकेको छैन।
यसअघि हिमपहिरोपछि १४ जना नेपाली बेपत्ता भएको जानकारी सार्वजनिक भएको थियो। बेपत्तामध्ये पर्वतारोहण गाइड, शेर्पा तथा अन्य सहयोगी कर्मचारी रहेको बताइएको छ। विदेशी आरोहीहरू भने घटनाका बेला हिमलुङ क्षेत्रमा पुगेका थिएनन्।
उद्धारका लागि काठमाडौं तथा पोखराबाट हेलिकप्टर र अनुभवी पर्वतारोहण गाइडहरूको टोली परिचालन गरिएको छ। मौसम प्रतिकूल हुँदा प्रारम्भिक चरणमा उद्धार टोलीलाई घटनास्थल पुग्न कठिनाइ भएको थियो।
रास्वपाका सांसद तथा पर्वतारोही मिङ्मा डेभिड शेर्पासहितको उद्धार टोलीसमेत हिमलुङ क्षेत्रमा पुगेको जनाइएको छ। बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
हिमलुङ हिमाल ७ हजार १२६ मिटर अग्लो हिमाल हो। घटनापछि बेपत्ताहरूको अवस्था पत्ता लगाउन तथा उद्धार गर्न विभिन्न निकाय र पर्वतारोहण क्षेत्रका अनुभवी टोलीहरू परिचालन भएका छन्।
प्रतिक्रिया