काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनमा सहभागी हुन भारत र चीनसहित युरोप तथा अमेरिकाका विभिन्न राजनीतिक दललाई निमन्त्रणा पठाएको छ।
आगामी असोज १६ गते काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशनको उद्घाटन समारोहमा अतिथिका रूपमा सहभागी हुन विदेशी राजनीतिक दल तथा मित्र संगठनका प्रतिनिधिलाई आमन्त्रण गरिएको हो।
कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाका अनुसार भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) सहित अन्य प्रमुख राजनीतिक दल, चीनको कम्युनिस्ट पार्टी अफ चाइना (सीपीसी) तथा युरोप र अमेरिकाका विभिन्न राजनीतिक दललाई औपचारिक निमन्त्रणा पठाइसकिएको छ।
बाँकी अन्य विदेशी मित्रदल तथा राजनीतिक संगठनका प्रतिनिधिलाई पनि निमन्त्रणा पठाउने क्रम जारी रहेको राणाले जानकारी दिएका छन्।
यसैगरी, महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा दिने काम सम्पन्न भइसकेको कांग्रेसले जनाएको छ।
महाधिवेशनमा विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिको सहभागिता रहने भएकाले कांग्रेसको १५औँ महाधिवेशनलाई अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध र पार्टीगत सहकार्यका दृष्टिले समेत महत्वका साथ हेरिएको छ।
प्रतिक्रिया