सप्तरीमा ५०० भन्दा बढी घर डुबानमा, बागलुङमा दर्जनौँ सडक अवरुद्ध

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ आश्विन २०८३, आईतवार ०६:४६

काठमाडौं । देशका विभिन्न भागमा लगातार भइरहेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। तराई क्षेत्रमा बाढी र पहाडी क्षेत्रमा पहिरोका कारण सडक तथा बस्तीमा क्षति पुगेको छ।

सप्तरीमा अविरल वर्षा र खोलामा आएको बाढीका कारण हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकाका ५०० भन्दा बढी घर डुबानमा परेका छन्। बाढीबाट दुई हजारभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

प्राप्त विवरणअनुसार हनुमाननगर कंकालिनी नगरपालिकाका वडा नम्बर ५, ७, १२ र १३ का बस्तीमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन्। यस्तै, तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ४ र ५ मा १७ वटा घर डुबानमा पर्दा करिब दुई हजार नागरिक प्रभावित भएका छन्।

शुक्रबार राति सप्तकोशी नदीमा पानीको बहाव र सतह एक्कासि बढेपछि बस्तीमा बाढी प्रवेश गरेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए।

बाढीबाट विस्थापित तथा प्रभावित नागरिकका लागि नगरपालिकाले तत्काल बिहान र बेलुका दुई छाक पकाएको खानाको व्यवस्था गरेको प्रमुख माझीले बताए। बाढीको सतह घटेपछि वास्तविक पीडितको पहिचान गरी थप राहत सामग्री वितरण गरिने उनले जानकारी दिए।

यसैगरी, बागलुङमा दुई दिनदेखि परेको अविरल वर्षाका कारण दुईवटा राष्ट्रिय राजमार्गसहित दर्जनौँ ग्रामीण सडकखण्ड अवरुद्ध भएका छन्। बाढी र पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग विभिन्न ग्रामीण भेगको सडक सम्पर्क प्रभावित भएको छ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गजस्ता मुख्य राष्ट्रिय राजमार्गका साथै सहायक तथा ग्रामीण सडकमा पहिरो खस्दा यातायात सेवा प्रभावित बनेको छ। गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने गलकोट–ताराखोला सडकअन्तर्गत गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले पक्की सडक कटान गरेपछि शुक्रबारदेखि सवारी सञ्चालन हुन सकेका छैनन्।

बागलुङ बजारबाट तित्याङ र रायडाँडा हुँदै भकुण्डे जोड्ने सडकको बागलुङ नगरपालिका–३ गौडाकोटमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। बागलुङ नगरपालिका–१ रामरेखास्थित गणेशथान घुम्तीबाट निरयघाट जाने सडकमा पनि पहिरो खसेर आवागमन ठप्प भएको छ।

पहिरोका कारण बागलुङ बजारदेखि सिगाना हुँदै सायकोट जाने सडकसमेत अवरुद्ध भएको छ। बागलुङ बजारबाट दब्ल्याङ हुँदै बलेवा–कुश्मिसेरा जोड्ने मुख्य सडकखण्ड अवरुद्ध हुँदा दक्षिण बागलुङका विभिन्न क्षेत्रसँगको यातायात सम्पर्क प्रभावित भएको छ।

त्यस्तै, बागलुङ बजारबाट मुलपानी–तितौरे जाने सडकको तल्लो पात्लेमा पहिरो खसेपछि सडक बन्द भएको छ। बरेङ जाने सडक, निसीखोलामा राजमार्गबाट गाउँ जोड्ने शाखा सडक तथा ढोरपाटनका ग्रामीण सडकमा समेत ठाउँठाउँमा पहिरो खसेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार वर्षाका कारण मुख्य राजमार्गदेखि गाउँ जोड्ने भित्री सडकसम्म अवरुद्ध भएका छन्।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन सडक आयोजना, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी तथा सम्बन्धित स्थानीय तहसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए। लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा ग्रामीण क्षेत्रका बासिन्दालाई सदरमुकाम आवतजावतमा कठिनाइ भएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor