काठमाडौं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्।
प्रहरीले उनलाई काठमाडौंको महाराजगन्जस्थित आफ्नै निजी निवासबाट नियन्त्रणमा लिएको जनाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिएको बताइएको छ।
यद्यपि, उनीविरुद्ध परेको उजुरी कुन विषयसँग सम्बन्धित छ र कस्तो प्रकृतिको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो भन्नेबारे प्रहरीले अहिलेसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन। त्यसैले पक्राउको कानुनी आधार र अनुसन्धानको विषयबारे आधिकारिक विवरण आउन बाँकी छ।
जबराले सर्वोच्च अदालतको नेतृत्व सम्हालेका बेला तत्कालीन मन्त्रिपरिषद्मा भागबन्डा खोजेको, बिचौलियालाई प्रश्रय दिएको तथा न्यायिक विचलन ल्याएको लगायतका आरोपहरू सार्वजनिक भएका थिए। ती आरोपलाई लिएर नेपाल बार एशोसिएसन तथा कानुन व्यवसायीहरूले लामो समयसम्म सर्वोच्च अदालत परिसरमै आन्दोलन र धर्ना गरेका थिए।
२०७५ पुस १८ गते देशको २९औँ प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते तत्कालीन सत्तागठबन्धनका ९८ जना सांसदले संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव दर्ता भएपछि उनी प्रधानन्यायाधीशको जिम्मेवारीबाट निलम्बित भएका थिए।
महाभियोग सिफारिस समितिले छानबिन गरी प्रतिवेदन संसद्मा पेस गरे पनि त्यसलाई प्रतिनिधिसभाबाट अन्तिम रूपमा टुङ्गो लगाउने प्रक्रिया पूरा हुन सकेन। जबरा २०७९ मङ्सिर २८ गते ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाशमा गएका थिए।
यसअघि पनि जबराको सम्पत्तिमाथि अनुसन्धान भएको विषय सार्वजनिक भएको थियो। पछिल्लो समय उनीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी उजुरी परेको विवरणसमेत सार्वजनिक भएका छन्।
अहिलेको पक्राउ सोही विषय वा अन्य कुनै आपराधिक अनुसन्धानसँग सम्बन्धित हो भन्नेबारे भने प्रहरीले औपचारिक रूपमा पुष्टि गरिसकेको छैन। प्रहरीले अनुसन्धान अघि बढाएपछि पक्राउको कारण र उजुरीको प्रकृतिबारे थप विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया