भोटेकोशी बाढीको एक महिना : १,४५३ को मृत्यु, ५,५५० अझै बेपत्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०८३, शनिबार ०६:५४

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा अकस्मात् आएको विनाशकारी बाढीको एक महिना पूरा भएको छ। गत भदौ १० गते बिहान आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार बाढीमा परी हालसम्म १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार ५५० जना अझै बेपत्ता छन्। उद्धार गरिएका १३ हजार ७९५ जना प्रभावित विभिन्न आश्रयस्थलमा बसोबास गरिरहेका छन्।

बाढी प्रभावितको खोज, उद्धार, राहत तथा अन्य मानवीय सेवामा तीनवटै सुरक्षा निकायका २० हजार ४७७ सुरक्षाकर्मी परिचालित छन्।

४ खर्बभन्दा बढीको क्षति

विनाशकारी बाढीबाट ४ खर्ब ८ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको क्षति तथा नोक्सानी भएको प्रारम्भिक आकलन गरिएको छ। द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

बाढीबाट ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। त्यस्तै ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा क्षति पुगेको छ।

७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाट क्षमताका पाँच सौर्य ऊर्जा आयोजना प्रभावित भएका छन्। ६९ किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएका छन्।

३७ मोटरेबल पुलमा क्षति पुगेकोमा ३३ वटा पुल बगेका छन् भने ६८ वटा झोलुंगे पुलमा क्षति पुगेको छ।

कृषि, व्यवसाय र वित्तीय क्षेत्रमा पनि ठूलो असर

बाढीका कारण उत्पादन क्षेत्रमा १ हजार ८०६ हेक्टर कृषि बाली प्रभावित भएको छ। पशुपालन, पक्षीपालन तथा माछापालन क्षेत्रमा समेत क्षति पुगेको छ।

त्यस्तै १७ बैंक शाखा र करिब ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्। करिब ७ हजार ५७० घर प्रभावित हुँदा ८ हजार ३०० घरपरिवारका करिब ४० हजार मानिस प्रभावित भएको आकलन गरिएको छ।

खोज, उद्धार र राहतमा रेडक्रसको निरन्तर सक्रियता

बाढी आएको सुरुआती क्षणदेखि नै नेपाल रेडक्रस सोसाइटीले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिँदै आएको जनाएको छ।

अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) का महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईंले आवश्यक समन्वय र पहल गरी आपत्कालीन सहयोग कोष (डीआरएफ) मार्फत १२ लाख अमेरिकी डलर खर्च गर्न स्वीकृति सुनिश्चित गरेका थिए।

उनको पहलपछि नेपाल रेडक्रसका स्वयंसेवक तथा आइएफआरसीको टोलीलाई प्रभावित क्षेत्रमा तत्काल परिचालन गरिएको थियो। नेपाल रेडक्रसले आफ्नो आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गर्दै सम्बन्धित जिल्ला शाखा तथा स्वयंसेवकलाई खोज, उद्धार र राहतमा परिचालन गरेको थियो।

स्वयंसेवकहरूले खोज तथा उद्धारसँगै प्रभावित समुदायको तत्कालीन आवश्यकता पहिचान, समन्वय र राहत वितरणमा सहयोग गरिरहेका छन्।

खानेपानीदेखि मानसिक स्वास्थ्य सेवासम्म

रेडक्रसका अनुसार डीआरएफबाट प्राप्त स्रोतका कारण बाढी प्रभावित क्षेत्रमा खानेपानी, टेन्ट, तारपोलिन, कम्बल, म्याट, प्राथमिक उपचार सामग्री, स्ट्रेचर, शव व्यवस्थापनका लागि डेथ बडी ब्याग, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, आपत्कालीन स्वास्थ्य सेवा र सरसफाइ किटलगायत सामग्री तथा सेवा छिटो पुर्‍याउन सम्भव भएको छ।

आइएफआरसीका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत चापागाईंका अनुसार आपत्कालीन सहयोग कोष समयमै परिचालन हुँदा उद्धार तथा राहत टोलीलाई प्रभावित क्षेत्रमा छिटो पुर्‍याउन सहयोग पुगेको थियो।

उनले समयमै स्वयंसेवक तथा उद्धार टोली प्रभावित क्षेत्रमा पुग्न सफल भएको र प्रभावित समुदायले आवश्यक राहत सामग्री प्राप्त गर्न सकेको बताए। यसले थप मानवीय पीडा, रोग तथा जोखिम घटाउन सहयोग पुगेको उनको भनाइ छ।

भोटेकोशी बाढीको प्रतिकार्य जलवायु संवेदनशील मानवीय प्रतिकार्यको महत्वपूर्ण उदाहरण बन्न सक्ने उनले बताए।

दुई हजारभन्दा बढी परिवारमा खानेपानी सेवा

नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनालका अनुसार बाढी गएको सुरुआती दिनदेखि नै खोज तथा उद्धारसँगै आवास तथा गैरखाद्य सामग्री, खाद्य सामग्री, खानेपानी, सरसफाइ, स्वास्थ्य तथा मनोसामाजिक सहयोगलगायत सेवा निरन्तर सञ्चालनमा छन्।

हालसम्म आवास तथा गैरखाद्य सामग्रीअन्तर्गत १ हजार २१८ सेट, ५६३ त्रिपाल, ७०१ म्याट्रेस र १ हजार ३२४ कम्बल वितरण गरिएको छ। करिब २ हजार प्रभावित परिवारलाई खाद्य सामग्री सहयोग गरिएको छ।

एक महिनाको अवधिमा २ हजार २०० घरधुरीमा खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा पुर्‍याइएको छ। १८ वटा पानी ट्यांकी व्यवस्थापन गर्नुका साथै आवश्यक स्थानमा ट्यांकरमार्फत पानी वितरण गरिएको छ।

मानसिक स्वास्थ्य र स्वास्थ्य सेवामा पनि सहयोग

मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग र प्राथमिक मनोसामाजिक सेवाबाट १ हजार ७१० प्रभावित लाभान्वित भएका छन्।

रेडक्रस आपत्कालीन स्वास्थ्य क्लिनिकमार्फत १ हजार २३९ जनालाई स्वास्थ्य परीक्षण, औषधि तथा अन्य आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ।

परिवार पुनर्मिलन तथा सम्पर्क पुनःस्थापनाअन्तर्गत २ हजार २९१ खोजतलाससम्बन्धी केसमा सेवा तथा सहजीकरण गरिएको छ।

त्यसैगरी नेपाल सरकारका विभिन्न सुरक्षा निकायलाई २ हजार शव व्यवस्थापन झोला उपलब्ध गराइएको रेडक्रसले जनाएको छ।

नगद सहयोग र गुनासा व्यवस्थापन

बहुउद्देश्यीय नगद सहायता तथा नगद–भौचर सहयोगअन्तर्गत धादिङका १९८ र नुवाकोटका २६२ घरधुरीलाई तत्कालीन आवश्यकता पूरा गर्न नगद सहयोग उपलब्ध गराइएको छ।

समुदायका गुनासा, जिज्ञासा, अनुरोध तथा सुझाव संकलनअन्तर्गत विभिन्न माध्यमबाट प्राप्त करिब ३५० गुनासालाई आवश्यक जानकारी, सहजीकरण तथा रेफरल सेवा प्रदान गरिएको छ।

संरक्षण, लैङ्गिक तथा समावेशीकरणअन्तर्गत ५८७ मर्यादा किट र १ हजार ८७ स्वच्छता किट वितरण गरिएको छ। बालमैत्री सुरक्षित स्थानमार्फत १ हजार १८९ बालबालिकालाई सेवा उपलब्ध गराइएको छ।

१७ स्थानमा सूचना तथा सहायता कक्ष

प्रभावित समुदायलाई सूचना तथा आवश्यक सहजीकरण उपलब्ध गराउन १७ स्थानमा सूचना तथा सहायता कक्ष सञ्चालन गरिएको रेडक्रसले जनाएको छ।

बाढी तथा पहिरोबाट सुरक्षित रहने उपाय, भारी वर्षासम्बन्धी पूर्वसूचना तथा सुरक्षा सन्देश, खानेपानी तथा सरसफाइ, पानी शुद्धीकरण, परिवार पुनर्मिलन, राहत तथा सेवामा पहुँच, नगद सहायता र गुनासा दर्ता प्रक्रियासम्बन्धी सूचना सामग्री विकास गरी रेडक्रसका सामाजिक सञ्जाल तथा रेडियोमार्फत प्रचारप्रसार गरिएको छ।

अबको प्राथमिकता पुनःस्थापना र पुनर्लाभ

नेपाल रेडक्रसले विस्थापित तथा जोखिममा रहेका परिवारको अवस्था, मौसमजन्य जोखिम र स्थानीय आवश्यकताका आधारमा राहत तथा मानवीय सहायता निरन्तरता दिने जनाएको छ।

प्रभावित परिवारको पुनःस्थापना तथा पुनर्लाभका लागि आवास, स्वास्थ्य, जीविकोपार्जन, खानेपानी तथा सरसफाइलगायत क्षेत्रमा आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको महामन्त्री खनालले बताए।

बाढीपछि क्षतिग्रस्त झोलुंगे पुल पुनर्निर्माण, सडक सञ्जाल पुनःस्थापना तथा प्रभावित समुदायलाई आवश्यक सेवासँग जोड्ने काम पनि अघि बढिरहेको छ।

नेपाल रेडक्रसले विपद्को समयमा प्रभावित समुदायको जीवनरक्षा, राहत तथा मानवीय सहायता र आवश्यक सेवा सञ्चालनमा सहयोग गर्ने आइएफआरसी, रेडक्रसको अन्तर्राष्ट्रिय समिति, साझेदार राष्ट्रिय सोसाइटी, नेपाल सरकार तथा सरकारी निकाय, स्थानीय तह, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र, सञ्चारमाध्यम, स्वयंसेवक तथा सहयोगी व्यक्ति र सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।

भोटेकोशी बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको एक महिना पूरा भइसक्दा पनि प्रभावित क्षेत्रमा उद्धार र राहतसँगै पुनःस्थापना तथा पुनर्लाभको चुनौती कायमै छ। तत्कालीन राहतपछि अब सुरक्षित आवास, पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन पुनःस्थापना र प्रभावित परिवारको दीर्घकालीन पुनर्वासतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor