काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका–१३ का ज्योति शाहीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले शाहीलाई बिहीबार धरान उपमहानगरपालिका–५, खैरेनीबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार शाहीमाथि १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुन्डी कारोबार गरेको आरोप छ। अनुसन्धानका क्रममा शाहीले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका ५२ वटा खातामार्फत उक्त रकम बराबरको कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार शाहीले घरेलु तथा साना उद्योग कार्यालय, इटहरी, सुनसरीमा २०६८ भदौ १६ गते ‘शाही मनी ट्रान्सफर’ नाममा व्यवसाय दर्ता गरी सञ्चालन गर्दै आएका थिए।
उक्त नामबाट कृषि विकास बैंक, तत्कालीन सेञ्चुरी कमर्सियल बैंक, ग्लोबल आईएमई बैंकलगायत ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता सञ्चालन गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।
प्रहरीका अनुसार विभिन्न व्यक्तिले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यमबाट नेपाल भित्र्याई त्यसलाई स–साना रकममा विभाजन गरिएको थियो।
त्यसपछि कनेक्ट आईपीएसलगायत विद्युतीय तथा डिजिटल माध्यम प्रयोग गरी असम्बन्धित व्यक्तिहरूको बैंक खातामा रकम पठाउने गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ।
उक्त कारोबारबारे अनुसन्धानका लागि सुनसरी जिल्ला अदालतबाट असोज ६ गते पक्राउ अनुमति लिइएको थियो।
त्यसपछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले शाहीलाई धरान–५ खैरेनीबाट पक्राउ गरेको हो। प्रहरीले हुन्डीसम्बन्धी कसुरमा उनीमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न अन्य व्यक्ति तथा कारोबारको थप विवरणसमेत अनुसन्धानका क्रममा खुल्नेछ। हालसम्म सार्वजनिक विवरण भने प्रारम्भिक अनुसन्धानमा आधारित रहेको छ।
प्रतिक्रिया