पोखराबाट दुबईमा फ्लाई दुबईको नियमित उडान सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ आश्विन २०८३, बिहीबार ०५:५८

गण्डकी । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई नियमित अन्तर्राष्ट्रिय उडान औपचारिक रूपमा सुरु गरेको छ।

दुबईबाट आएको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स विमान ११३ यात्रुसहित आज साँझ ६ः१९ बजे पोखरा अवतरण गरेको हो। विमानलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ‘वाटर क्यानन सल्युट’ सहित स्वागत गरिएको थियो।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार यात्रुलाई स्वागत गर्न पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सरकारी अधिकारी तथा पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधि विमानस्थल पुगेका थिए। सोही विमान १५३ यात्रु बोकेर साँझ ७ः१५ बजे दुबईका लागि प्रस्थान गरेको थियो।

फ्लाई दुबईको उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लामो समयपछि नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ। नियमित उडानले पोखराको पर्यटन प्रवर्द्धनसँगै वैदेशिक रोजगारी, अध्ययन, व्यवसाय तथा भ्रमणका लागि विदेश जाने यात्रुलाई समेत सहज हुने अपेक्षा गरिएको छ।

दैनिक उडानमार्फत पोखराबाट दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलियालगायत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यमा पुग्न सहज हुने बताइएको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको ‘कोडसेयर’ साझेदारीका कारण एउटै टिकटमार्फत विभिन्न गन्तव्यसम्म यात्रा गर्न सकिने व्यवस्था रहेको जनाइएको छ।

यसैगरी, विदेशी पर्यटकहरू काठमाडौँ हुँदै पोखरा आउनुपर्ने अवस्थाको अन्त्य गर्दै सिधै पोखरा आउन सक्ने भएकाले पोखरा तथा आसपासका पर्यटकीय क्षेत्रको पर्यटनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल विसं २०७९ पुस १७ गतेदेखि सञ्चालनमा आए पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। सरकारले अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी आकर्षित गर्न विभिन्न शुल्कमा छुट दिने निर्णय गरेपछि फ्लाई दुबईले उडान सुरु गरेको हो।

व्यवस्थाअनुसार विसं २०८५ भदौ मसान्तसम्म पार्किङ, ल्यान्डिङ तथा नेभिगेसन शुल्कमा पूर्ण छुट र ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ।

फ्लाई दुबईको नियमित तालिकाअनुसार विमान हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्नेछ। दुबईसँगको सीधा हवाई सम्पर्कले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा थप जोड्दै पर्यटन तथा हवाई क्षेत्रका लागि नयाँ सम्भावनाको ढोका खोलेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor