काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारी कोषमा सहयोग रकम जम्मा हुने क्रम जारी छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषअन्तर्गतका विभिन्न खातामा हालसम्म १५ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात पुगेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त विवरणअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषअन्तर्गत सञ्चालनमा रहेका नौ वटा वाणिज्य बैंकका नेपाली खातामा मात्रै ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ रुपैयाँ जम्मा भएको छ।
त्यसैगरी, विदेशी सहायता व्यवस्थापनका लागि हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा खोलिएका अमेरिकी डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर मौज्दात रहेको छ।
नेपाली तथा विदेशी मुद्राका सबै खातामा रहेको रकमलाई जोड्दा कुल मौज्दात १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ पुगेको विवरणमा उल्लेख छ।
प्रतिक्रिया