काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्। उनी कतार एयरवेजमार्फत कतारको दोहा हुँदै न्युयोर्क जाने कार्यक्रमअनुसार प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ। दोहाबाट उनी बुधबार न्युयोर्कतर्फ प्रस्थान गर्नेछन्।
न्युयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज अरनलगायतका अधिकारीहरूले स्वागत गर्नेछन्।
न्युयोर्क पुगेपछि प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगमा पुगेर परराष्ट्र सचिव, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत तथा न्युयोर्कस्थित नेपालका महावाणिज्यदूतबाट भ्रमणसम्बन्धी ब्रिफिङ लिने कार्यक्रम छ।
असोज ८ गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्। त्यसपछि उनले संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री शाह असोज ९ गते न्युयोर्कबाट दोहातर्फ प्रस्थान गर्ने र असोज १० गते काठमाडौं फर्कने कार्यतालिका रहेको छ। यो प्रधानमन्त्री शाहको पहिलो विदेश भ्रमणसमेत हो।
प्रतिक्रिया