भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको क्षति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०८३, मंगलवार ०६:२१

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछि गएको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा प्रारम्भिक रूपमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदन सार्वजनिक गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिक्रिया टोली (क्युआरटी)का संयोजक तथा कार्यकारी सदस्य सहदेव धमलाले प्रतिवेदन प्रस्तुत गरेका हुन्।

प्रतिवेदनअनुसार रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत क्षेत्रमा होटल, पर्यटन पूर्वाधार, यातायात, पदमार्ग तथा पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ। सबैभन्दा बढी होटल व्यवसायमा १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार रुपैयाँ क्षति भएको प्रारम्भिक आकलन छ।

त्यस्तै, वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड २४ लाख ६४ हजार, मानवबल तथा पर्यटक व्यवस्थापनमा १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५००, सम्पदा तथा पर्यटन पूर्वाधारमा १ अर्ब ६६ करोड ४० लाख र सवारीसाधनमा १ अर्ब ५१ करोड ४० लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

रेस्टुरेन्ट क्षेत्रमा १ अर्ब ३८ करोड ५० लाख २० हजार, लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारमा १ अर्ब २७ करोड ६४ लाख ४० हजार, आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख, र्‍याफ्टिङ तथा क्याम्पिङमा १५ करोड ५० लाख र ट्रेकिङ ट्रेलमा ५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।

बाढी–पहिरोबाट १ हजार ११७ नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ। तीमध्ये ३१० जनाको उद्धार गरिएको र १३ जना सम्पर्कमा आएको जनाइएको छ। हाल ७९४ जना सम्पर्कविहीन रहेकामा ६०६ विदेशी र १८८ नेपाली छन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरका अनुसार घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरसँग समन्वय गरी खोज तथा उद्धार सुरु गरिएको थियो।

कार्यक्रममा पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ले प्रभावित क्षेत्रमा अलपत्र पर्यटकको शीघ्र उद्धार तथा क्षतिग्रस्त पर्यटन पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए। आगामी पर्यटकीय सिजनअघि प्रमुख गन्तव्यमा सुरक्षा, सञ्चार तथा यातायात पहुँच पुनःस्थापित गर्ने गरी संयुक्त कार्ययोजना अघि बढाइने उनको भनाइ थियो।

प्रतिवेदनले तत्काल राहत, कर छुट, सहुलियतपूर्ण पुनरुत्थान प्याकेज, वैकल्पिक पदमार्ग तथा यातायात पहुँच, पूर्वसूचना प्रणाली र जलवायु–अनुकूल पर्यटन पूर्वाधारमा जोड दिएको छ। प्रभावित क्षेत्रको पुनरुत्थानलाई दिगो पर्यटन प्रणालीसँग जोड्दै पुनरुत्थान योजनाको मस्यौदा तयार गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाल सुरक्षित र पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गर्न भारतका दुई सहरमा प्रेस ब्रिफिङ तथा ‘नेपाल नाइट’ कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor