निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिन्छु, तर मैदान छाड्दिनँ : ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०८३, मंगलवार ०६:११

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले भोगेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्। तर, पराजयका कारण आफू नेतृत्वबाट पछि नहट्ने र कठिन परिस्थितिमा पार्टीलाई छाडेर नभाग्ने उनले स्पष्ट पारेका छन्।

ललितपुरमा सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकमा ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले निर्वाचन परिणामले पार्टीलाई गम्भीर आघात पुगेको स्वीकार गरेका हुन्। बैठक तीन दिनसम्म चल्ने र प्रतिवेदनमाथि छलफलसहित पार्टीका विभिन्न संरचना गठन तथा समसामयिक विषयमा छलफल हुने एमालेले जनाएको छ।

ओलीले निर्वाचनमा भएको पराजयलाई लिएर एकअर्कामाथि दोषारोपण गर्ने वा निराशामा डुब्ने दुवै बाटो गलत भएको बताएका छन्। उनले अहिलेको अवस्थामा कठोर आत्मसमीक्षा, तथ्यमा आधारित प्रतिवाद र साङ्गठनिक पुनर्निर्माणमार्फत अघि बढ्नुपर्ने धारणा राखेका छन्।

प्रतिवेदनमा ओलीले पार्टीभित्र नेतृत्व पुस्तान्तरण तथा पुनर्गठनका विषयमा उठेका मागप्रति समेत प्रतिक्रिया दिएका छन्। पार्टी पुनर्गठन लहड वा रहरको विषय नभई विशेष परिस्थितिमा आवश्यकताअनुसार गरिने प्रक्रिया भएको उल्लेख गर्दै उनले नेतृत्व विस्थापनको उद्देश्यले ‘बेमौसमी बाजा’ बजाइएको दाबी गरेका छन्।

उनले उमेर कम हुँदैमा स्वतः योग्य र बढी हुँदैमा अयोग्य नहुने उल्लेख गर्दै ऊर्जा र अनुभवको संयोजनबाट पार्टीलाई अघि बढाउनुपर्ने धारणा पनि प्रतिवेदनमा राखेका छन्।

वर्तमान परिस्थितिमा एमालेका सामु संविधान तथा लोकतान्त्रिक प्रणालीको रक्षा र आगामी स्थानीय तहलगायतका निर्वाचनको तयारी गरी दुई प्रमुख कार्यभार रहेको ओलीले बताएका छन्। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन रहेको विषयलाई समेत उनले प्रतिवेदनमा उठाएका छन्।

ओलीले एमाले निर्वाचनमा पराजित भए पनि राजनीतिक रूपमा समाप्त नभएको दाबी गर्दै पराजयबाट शिक्षा लिएर संगठनात्मक रूपान्तरण र पुनर्जागरणतर्फ अघि बढ्ने बताएका छन्। उनले पार्टीलाई पुनः जनताको विश्वास प्राप्त गर्ने आधार निर्माण गर्ने प्रतिबद्धता पनि प्रतिवेदनमार्फत व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor