पोखरा । पोखराको एक नर्सिङ होमको शय्या थपका विषयमा आर्थिक सौदाबाजी भएको आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारका स्वास्थ्य सचिव डा. युवानिधि वसौलालाई जिम्मेवारीबाट हटाइएको छ।
पोखरा–३, नदीपुरस्थित ५० शय्याको पद्म नर्सिङ होमलाई १०० शय्यामा स्तरोन्नति गर्ने अनुमति दिने विषयमा रकमको लेनदेनसम्बन्धी कुराकानी भएको भिडियो सार्वजनिक भएपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको हो।
घटनामा निवर्तमान स्वास्थ्यमन्त्री तथा एमाले संसदीय दलका सदस्य लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र सचिव वसौलाको नाम जोडिएको छ। प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार वसौलालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता बोलाइएको छ।
प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्दै १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको छ। समितिले पछिल्लो दुई वर्षमा अस्पताललाई दिइएका अनुमति, स्तरोन्नतिको कानुनी व्यवस्था र प्रक्रियासमेत अध्ययन गर्नेछ।
प्रकरणमा भ्रष्टाचार वा आर्थिक अनियमितताको पक्ष हुनसक्ने भन्दै प्रदेश सरकारले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयलाई समेत पत्राचार गरेको जनाएको छ। छानबिन टुंगो नलागेसम्म सम्बन्धित अस्पतालको स्तरोन्नति तथा अनुमति कार्यान्वयन नगर्ने व्यवस्था मिलाइने भएको छ।
सार्वजनिक विवरणअनुसार २०, २५ हुँदै ३० लाख रुपैयाँसम्मको रकमबारे सौदाबाजी भएको दाबी गरिएको छ। ३० लाख रुपैयाँको चेकसमेत स्वकीय सचिव पौडेलको नाममा काटिएको बताइएको छ। यद्यपि, घटनासम्बन्धी आरोप तथा भिडियोमा देखिएका विषयको अन्तिम तथ्य छानबिनबाट स्पष्ट हुने प्रदेश सरकारले जनाएको छ।
प्रतिक्रिया