काठमाडौं । तिथिको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज आइतबार एकैदिन परेको छ। बिहान कुकुरको पूजा गरी मीठा खानेकुरा खुवाइँदै छ भने साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदै छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा चतुर्दशी तिथि परेकाले आज कुकुर तिहार र नरक चतुर्दशी मनाउन लागिएको हो।
धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार कुकुरलाई यमराजको ढोकामा द्वारपालका रूपमा रहने श्याम र सबल नामका कुकुरसँग जोडेर पूजा गर्ने धार्मिक विश्वास छ। यस दिन कुकुरलाई माला र टीका लगाई मीठा परिकार खुवाउने परम्परा छ।
आज साँझ घर, आँगन तथा पसल सफा गरी दियो र बत्ती बालेर लक्ष्मीपूजा गरिन्छ। लक्ष्मी, गणेश र सरस्वतीको पूजा गरी धनधान्य, सुख, शान्ति र समृद्धिको कामना गर्ने चलन छ। घरको मूल ढोकादेखि पूजाकोठासम्म दीप प्रज्वलन गर्ने, रङ्गोली बनाउने र लक्ष्मीका पाइला अंकित गर्ने परम्परा पनि रहेको छ।
नरक चतुर्दशीका अवसरमा बिहान नदी, तलाउ वा तीर्थस्थलमा स्नान गरी दक्षिण फर्काएर यमदीप बगाउने चलन छ। यसरी दीपदान गर्दा मृत्युपछि नरकको यातना भोग्नु नपर्ने धार्मिक विश्वास रहेको छ।
प्रतिक्रिया