मुकुन्द ढुंगाना। नेपाली समाजमा तिहार केवल एउटा धार्मिक पर्व होइन, यो आस्था, संस्कृति, प्रकृति, पारिवारिक सम्बन्ध र सामाजिक सद्भावको सुन्दर संगम हो। दीपावली, यमपञ्चक र स्वन्ति नामले समेत चिनिने तिहारले मानिसलाई अन्धकारबाट उज्यालोतर्फ, निराशाबाट आशातर्फ र असत्यबाट सत्यतर्फ अघि बढ्न प्रेरित गर्छ। घरआँगनमा बालिने साना दियोले केवल भौतिक उज्यालो मात्र दिँदैनन्, जीवनमा आशा, सकारात्मकता र सद्भावको सन्देशसमेत प्रवाह गर्छन्।
तिहारको सुरुवात कहिलेदेखि भयो भन्ने विषयमा एउटै सर्वमान्य ऐतिहासिक प्रमाण उपलब्ध छैन। तर यसको धार्मिक, सांस्कृतिक र सामाजिक परम्परा प्राचीन हिन्दु सभ्यता र दक्षिण एसियाली जीवनशैलीसँग जोडिएको पाइन्छ। विभिन्न धार्मिक ग्रन्थ, लोककथा र ऐतिहासिक विवरणमा दीपोत्सव, लक्ष्मीपूजा तथा यमपञ्चकसँग सम्बन्धित प्रसंग उल्लेख छन्। इतिहासकार तथा संस्कृतिविद्हरूले यस पर्वको विकासमा धार्मिक आस्था, कृषि जीवन, प्रकृति र समुदायको परम्परागत सम्बन्धको महत्वपूर्ण भूमिका रहेको बताउँदै आएका छन्।
प्राचीन कृषि समाजमा बाली भित्र्याउने समयलाई उत्सवका रूपमा मनाउने चलन थियो। खेतीपातीबाट अन्न उत्पादन भएपछि घरमा अन्न, धन र समृद्धि भित्रिएको खुसीमा पूजा, उत्सव र सामूहिक भेटघाट गरिन्थ्यो। तिहारको कृषि संस्कृतिसँग जोडिएको पक्षलाई पनि यही सामाजिक पृष्ठभूमिमा बुझ्न सकिन्छ। गाई, गोरु, काग र कुकुरको पूजा गर्ने परम्पराले मानिसको जीवनमा प्रकृति तथा पशुपक्षीको योगदानप्रतिको सम्मानलाई दर्शाउँछ।
तिहार पाँच दिनसम्म मनाइने यमपञ्चक पर्व हो। काग तिहारबाट सुरु हुने यस पर्वमा कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोरु तिहार र म्हः पूजा तथा भाइटीकासम्मका विभिन्न परम्परा जोडिएका छन्। नेपालका समुदायअनुसार यसको नाम र मनाउने विधिमा केही भिन्नता पाइन्छ।
धार्मिक मान्यताअनुसार कागलाई यमराजको दूत, कुकुरलाई यमलोकको द्वारपाल र गाईलाई लक्ष्मीको प्रतीकका रूपमा पूजा गरिन्छ। गोरुले कृषि कार्यमा पुर्याएको योगदानको सम्मान गरिन्छ। अन्तिम दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाई दीर्घायु, सुख र समृद्धिको कामना गर्छन्।
तिहारसँग जोडिएको अर्को महत्वपूर्ण पौराणिक कथा भगवान् रामको अयोध्या आगमनसँग सम्बन्धित छ। रामले रावणमाथि विजय प्राप्त गरी १४ वर्षको वनवासपछि सीतासहित अयोध्या फर्किँदा नगरवासीले दीप प्रज्वलन गरेर स्वागत गरेको धार्मिक कथन छ। त्यसैको सम्झनामा दीपावली मनाउने परम्परा विकसित भएको जनविश्वास छ।
त्यस्तै, भगवान् कृष्णले नरकासुरको वध गरी अन्याय र अत्याचारबाट मुक्ति दिलाएको प्रसंग पनि दीपावलीसँग जोडिन्छ। विभिन्न भूगोल र समुदायमा फरक–फरक पौराणिक कथाका आधारमा यो पर्व मनाइने भएकाले यसको इतिहासलाई एउटै कथामा सीमित गर्न सकिँदैन।
तिहारको सबैभन्दा आकर्षक र महत्वपूर्ण पक्ष लक्ष्मीपूजा हो। कार्तिक कृष्ण औँसीको साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीलाई धन, वैभव, सौभाग्य, सुख र समृद्धिकी देवीका रूपमा मानिन्छ।
लक्ष्मीपूजाका दिन बिहानै घर, आँगन, पसल र कार्यालय सफा गर्ने, साँझ दियो बाल्ने, फूलमालाले सजाउने तथा घरको मूल ढोकादेखि पूजाकोठासम्म लक्ष्मीका पाइला बनाउने परम्परा छ। लक्ष्मी घरमा प्रवेश गरून् र परिवारमा सुख, शान्ति तथा समृद्धि छाओस् भन्ने कामनासहित घरभरि दीप प्रज्वलन गरिन्छ।
धार्मिक मान्यताअनुसार स्वच्छता, पवित्रता र उज्यालो भएको स्थानमा लक्ष्मीको बास हुन्छ। त्यसैले लक्ष्मीपूजा केवल धन प्राप्तिको कामना गर्ने दिन मात्र होइन, आफ्नो घर, व्यवहार र मनलाई समेत स्वच्छ बनाउने अवसर हो। धन सम्पत्ति मात्र समृद्धि होइन, परिवारमा प्रेम, समाजमा सद्भाव, काममा इमानदारी र जीवनमा सन्तुष्टि हुनु पनि वास्तविक लक्ष्मीको स्वरूप हो।
लक्ष्मीपूजाका दिन व्यापारी तथा व्यवसायीले आफ्नो लेखा, कारोबार र आर्थिक गतिविधिसँग सम्बन्धित सामग्रीको पूजा गर्ने परम्परा पनि छ। यसले आर्थिक अनुशासन, व्यवसायप्रतिको सम्मान र नयाँ सुरुवातको प्रतीकात्मक अर्थ बोकेको छ। घरमा भएका गरगहना, धनसम्पत्ति तथा बहुमूल्य वस्तु राखेर पूजा गर्ने चलन पनि यही विश्वाससँग सम्बन्धित छ।
तिहारमा दियो बाल्नुको अर्थ अन्धकार हटाएर उज्यालो फैलाउनु हो। अन्धकारलाई अज्ञानता, अन्याय, नकारात्मकता र निराशाको प्रतीकका रूपमा तथा उज्यालोलाई ज्ञान, सत्य, सद्भाव र सकारात्मकताको प्रतीकका रूपमा बुझिन्छ।
एउटा सानो दियोले पनि वरपरको अन्धकार हटाउन सक्छ। त्यसैगरी मानिसको सानो सकारात्मक प्रयासले परिवार, समाज र राष्ट्रमा परिवर्तन ल्याउन सक्छ। तिहारले यही जीवनदर्शन सिकाउँछ। अरूको घरमा उज्यालो देखेर ईर्ष्या गर्ने होइन, आफूले पनि एउटा दियो बालेर उज्यालो थप्ने संस्कार विकास गर्नुपर्छ।
तिहारमा खेलिने देउसी–भैलो पनि नेपाली मौलिक संस्कृतिको महत्वपूर्ण हिस्सा हो। गीत, संगीत, नृत्य र सामूहिक भेटघाटमार्फत शुभकामना आदानप्रदान गर्ने यस परम्पराले सामाजिक एकता र आपसी सम्बन्धलाई बलियो बनाउँछ। यसले मनोरञ्जनसँगै लोकसंस्कृति र पुस्तान्तरणको कामसमेत गर्छ।
नेपालको विविधतायुक्त समाजमा तिहारले सबै समुदायलाई जोड्ने काम गरेको छ। काठमाडौं उपत्यकाको नेवार समुदायमा स्वन्ति पर्वका रूपमा मनाइने तिहारमा म्हः पूजा र नेपाल संवत्को नयाँ वर्षको विशेष महत्व छ। अन्य समुदायमा पनि आ–आफ्नै परम्परा र विधिअनुसार यो पर्व मनाइन्छ।
तिहारले मानव र प्रकृतिबीचको सम्बन्धलाई समेत उजागर गर्छ। वर्षभरि मानिसलाई साथ दिने पशुपक्षीको पूजा गर्नु, कृषि कार्यमा सहयोग गर्ने गोरुको सम्मान गर्नु र परिवारका सदस्यबीच आत्मीयता बढाउनु यसको विशिष्ट पक्ष हो। भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास र जिम्मेवारीलाई अझ बलियो बनाउँछ।
यस पर्वको अर्को महत्वपूर्ण पक्ष आर्थिक गतिविधि पनि हो। चाडपर्वका अवसरमा बजारमा किनमेल बढ्ने, फूलमाला, माटाका दियो, कपडा, मिठाई तथा स्थानीय उत्पादनको व्यापार हुने गर्छ। यसले साना व्यवसायी, किसान, हस्तकला तथा स्थानीय उद्यमीलाई आर्थिक अवसर प्रदान गर्छ।
समयसँगै तिहार मनाउने शैलीमा परिवर्तन आएको छ। परम्परागत माटाका दियोको स्थानमा विद्युतीय बत्तीको प्रयोग बढेको छ। देउसी–भैलोमा मौलिक गीतभन्दा आधुनिक संगीतको प्रभाव देखिन थालेको छ। बजारमुखी उपभोग, अनावश्यक खर्च र प्रतिस्पर्धाले पर्वको वास्तविक भावनालाई ओझेलमा पार्ने जोखिम पनि बढेको छ।
त्यसैले तिहारलाई देखावटी र खर्चिलो बनाउनेभन्दा यसको मौलिकता, सामाजिक सद्भाव र सांस्कृतिक महत्वलाई प्राथमिकता दिन आवश्यक छ। स्थानीय किसानले उत्पादन गरेका फूल, स्थानीय कुमालले बनाएका माटाका दियो र नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सकिन्छ। पटाका र ध्वनि प्रदूषणबाट टाढा रहेर वातावरणमैत्री तरिकाले पर्व मनाउनु पनि आजको आवश्यकता हो।
अन्ततः तिहार केवल पाँच दिनको उत्सव होइन, यो हाम्रो इतिहास, धर्म, संस्कृति, अर्थतन्त्र र सामाजिक जीवनसँग जोडिएको साझा पहिचान हो। लक्ष्मीपूजाले धनसँगै विवेक, इमानदारी र सन्तुष्टिको महत्व सम्झाउँछ भने तिहारका अन्य परम्पराले प्रकृति, पशुपक्षी र पारिवारिक सम्बन्धप्रतिको सम्मान सिकाउँछन्।
हामीले बाल्ने प्रत्येक दियोले घर मात्र होइन, मन र समाज पनि उज्यालो बनाओस्। लक्ष्मीको कृपा धनमा मात्र सीमित नभई विचार, व्यवहार, स्वास्थ्य, शिक्षा, सद्भाव र कर्ममा पनि प्रकट होस्। यही नै तिहार र लक्ष्मीपूजाको वास्तविक महिमा हो।
प्रतिक्रिया