काठमाडौं । तिथिको घटबढका कारण यस वर्ष तिहारको तेस्रो दिन आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै छ। यस अवसरमा घरघरमा कुकुरलाई माला र टीका लगाई मीठा खानेकुरा खुवाएर पूजा तथा सम्मान गर्ने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार सूर्योदयकालमा चतुर्दशी तिथि परेकाले आज यी पर्व मनाउनुपर्ने शास्त्रीय मान्यता रहेको छ।
धर्मशास्त्रविद् प्राध्यापक डा. रामचन्द्र गौतमका अनुसार कुकुर तिहारका दिन कुकुरलाई परिकार खुवाउँदा यमलोकका द्वारपाल श्याम र सबलले परलोक यात्रामा बाटो छोडिदिने धार्मिक विश्वास छ।
नरक चतुर्दशीका दिन बिहान तीर्थ, नदी वा तलाउमा स्नान गरी यमदीप दक्षिण फर्काएर बगाउने चलन छ। यसरी दीपदान गर्दा मृत्युपछि नरकको यातना भोग्नु नपर्ने धार्मिक मान्यता रहेको छ।
प्रतिक्रिया