‘एक फल, दुई फूल’ अभियानले वडा नं. १ मा हरियालीसँगै आत्मनिर्भरतातर्फको सन्देश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ आश्विन २०८३, सोमबार ०६:३६

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नं. १ ले सम्पूर्ण वडाबासीलाई लक्षित गर्दै ‘एक फल, दुई फूल’ बिरुवा वितरण कार्यक्रम आयोजना गरेको छ। घरआँगनलाई हरियाली र सुन्दर बनाउनेसँगै फलफूल तथा फूलका बिरुवामार्फत वातावरण संरक्षण र घरेलु उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

वडाले स्थानीय बासिन्दाको सहभागितालाई प्राथमिकतामा राख्दै फलफूल तथा फूलका बिरुवा वितरण गरेको जनाएको छ। घर, टोल तथा सार्वजनिक स्थानमा हरियाली विस्तार गर्ने, वातावरण स्वच्छ राख्ने र वडाको सौन्दर्य बढाउने उद्देश्यले अभियान अघि बढाइएको वडा कार्यालयले जनाएको छ।

वडा नं. १ का अध्यक्ष सुरेन्द्र लामाले विकास भनेको केवल सडक, ढल र भौतिक संरचना निर्माण मात्र नभई वातावरण संरक्षण, स्वच्छता र नागरिकको जीवनस्तर सुधारसँग पनि जोडिएको बताए।

“हामीले वडाको विकासलाई भौतिक पूर्वाधारसँगै वातावरण संरक्षण र नागरिकको जीवनशैलीसँग जोडेर अघि बढाइरहेका छौं। ‘एक फल, दुई फूल’ अभियान पनि त्यसैको एउटा प्रयास हो। प्रत्येक घरमा बिरुवा हुर्काउने संस्कार विकास गर्न सके वडा अझ हरियाली, स्वच्छ र सुन्दर बन्न सक्छ,” अध्यक्ष लामाले भने।

उनका अनुसार वडाले नागरिकका आवश्यकता पहिचान गरी सडक, खानेपानी, सरसफाइ, स्वास्थ्य, शिक्षा, सामाजिक सेवा तथा वातावरण संरक्षणलगायतका क्षेत्रमा योजनाबद्ध रूपमा काम गर्दै आएको छ। नागरिकको प्रत्यक्ष सहभागितामा सञ्चालन हुने कार्यक्रमले विकासप्रति अपनत्वसमेत बढाउने उनको भनाइ छ।

वडाबासीहरूले पनि वडा कार्यालयले पछिल्लो समय नागरिकको आवश्यकता र स्थानीय समस्यालाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भन्दै प्रशंसा गरेका छन्। स्थानीयको सहभागिता र प्रत्यक्ष लाभ पुग्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनीहरूको भनाइ छ।

एक स्थानीयवासीले भने, “वडाले सडक र पूर्वाधार निर्माणसँगै वातावरण र नागरिकको दैनिक जीवनसँग जोडिएका कार्यक्रम ल्याउनु सकारात्मक छ। घरमै बिरुवा लगाएर हुर्काउन पाउनु वातावरणका लागि पनि राम्रो हो र यसले बालबालिकामा समेत प्रकृतिप्रतिको माया बढाउँछ।”

वडाबासीका अनुसार वडा कार्यालयले स्थानीयको गुनासो सुन्ने, आवश्यकताअनुसार कार्यक्रम अघि बढाउने र नागरिकसँग प्रत्यक्ष समन्वय गर्ने प्रयासलाई निरन्तरता दिँदै आएको छ। त्यसले वडा र नागरिकबीचको सम्बन्ध थप मजबुत बनाएको उनीहरूको भनाइ छ।

‘एक फल, दुई फूल’ कार्यक्रमलाई केवल बिरुवा वितरणमा सीमित नराखी आगामी दिनमा बिरुवाको संरक्षण, नियमित अनुगमन तथा थप हरियाली प्रवर्द्धनका कार्यक्रमसँग जोड्न सके यसको प्रभाव अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।

वडा कार्यालयले पनि वितरण गरिएका बिरुवाको संरक्षण र हुर्काउने जिम्मेवारी सम्बन्धित घरपरिवार तथा वडाबासीको हुने भन्दै अभियानलाई सफल बनाउन सबैलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ। वातावरणमैत्री वडा निर्माणसँगै नागरिकको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने कार्यक्रमलाई प्राथमिकता दिँदै अघि बढ्ने वडा अध्यक्ष लामाले बताए।

प्रतिक्रिया

Leave a Reply

slot gacor