काठमाडौं । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिनसम्म ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन तथा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ।
केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशन असोज ४ गते दोस्रो दिन पनि देशभर जारी रहेको छ। ताप्लेजुङदेखि कञ्चनपुरसम्मका ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया सम्पन्न भएको समितिले जनाएको छ।
रसुवा, नुवाकोट र धादिङसहित केही स्थानमा भने वडा अधिवेशन हुन बाँकी छ। सप्तरी क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ तथा परासी क्षेत्र नम्बर २ लगायतका क्षेत्रमा पनि अधिवेशन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।
आज सम्पन्न हुन नसकेका अन्य वडाको अधिवेशन असोज ५ गते सोमबार निरन्तर सञ्चालन हुने समितिले जनाएको छ।
कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशनपछि असोज ७ गते जिल्ला र असोज १० गते प्रदेश अधिवेशन हुनेछ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा नेपाली कांग्रेसको १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका छ।
प्रतिक्रिया