गोरखा । मनास्लु हिमाल आरोहणका क्रममा हिमपहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतीय–जर्मन आरोही ध्रुवज्योति गुहा र उनका सहयोगी तथा गाइड फुर्सेम्बा शेर्पा रहेका छन्।
मकालु एड्भेन्चरमार्फत मनास्लु आरोहणमा गएका उनीहरू शनिबार तेस्रो शिविर (क्याम्प–३) पुगेका थिए। स्थानीयका अनुसार राति अचानक आएको हिमपहिरोले टेन्टभित्र सुतिरहेका दुवै जनालाई पुरेको हो।
मौसम बिग्रिएर भारी वर्षा र हिमपात भएपछि अन्य आरोहीहरू दोस्रो शिविरतर्फ झरेका थिए। तर, गुहा र शेर्पा भने तेस्रो शिविरमै बसेका थिए।
घटनास्थलबाट दुवै जनाको शव सोमबार हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ।
यसअघि पनि यसै सिजन मनास्लु आरोहणका क्रममा सिंगापुरका ५० वर्षीय आरोही ल उई सेङ्ग र २० वर्षीय सहयोगी तासि शेर्पाको मृत्यु भएको थियो। सेङ्गको दोस्रो शिविरबाट तल झर्ने क्रममा तथा शेर्पाको टेन्टभित्रै मृत्यु भएको थियो।
पर्यटन विभागका अनुसार यस सिजन मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएका छन्।
प्रतिक्रिया