काठमाडौं । नेकपा (एमाले) को दशौं सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्दै परिषद् बैठक बोलाउने निर्णय गरेको हो।
बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजकत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदनसमेत अनुमोदन गरेको छ। महासचिव शंकर पोखरेल र बादलका प्रतिवेदन तथा देशभरबाट प्राप्त सुझावलाई समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिइएको हो।
प्रतिवेदनमा नेतृत्वसम्बन्धी विवादित विषय हटाइएको र ‘अध्यक्ष ओलीको राजीनामा’ भन्ने शब्द नराखिएको नेताहरूले बताएका छन्। देशभरबाट आएका सुझावलाई भने अनुसूचीमा समेटिएको छ।
एमाले उपमहासचिव लेखराज भट्टले चार महिनाको अध्ययन र छलफलपछि कार्यदलले तयार पारेको प्रतिवेदन सचिवालयले ग्रहण गरेको बताए। उनका अनुसार नेतृत्वसँग सम्बन्धित मतभेदका विषय हटाएर सर्वसम्मत प्रतिवेदनलाई अघि बढाइएको हो।
सचिवालय बैठकले सोमबारदेखि बस्ने केन्द्रीय कमिटी बैठकका सबै एजेण्डासमेत तय गरेको छ। अब केन्द्रीय कमिटी बैठकमा प्रतिवेदनमाथि विस्तृत छलफल गरी आवश्यक निर्णय लिइनेछ।
प्रतिक्रिया