काठमाडौं । भोटेकोशी/त्रिशूली नदीमा १० भदौमा आएको हिमबाढीबाट प्रभावितलाई राखिएका होल्डिङ सेन्टरमा झाडापखाला, रुघाखोकी तथा ज्वरोका बिरामी बढ्न थालेका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार शनिबारसम्म होल्डिङ सेन्टरमा रहेका ८८ जनामा झाडापखाला देखिएको छ भने २७० जनाभन्दा बढीमा रुघाखोकी तथा ज्वरोको समस्या देखिएको छ।
झाडापखाला देखिएका ८८ जनामध्ये ६० जना नुवाकोट, २० जना रसुवा, १० जना काठमाडौं र आठ जना धादिङका होल्डिङ सेन्टरमा रहेका प्रभावित हुन्। त्यस्तै, रुघाखोकी र ज्वरोको समस्या नुवाकोटमा सबैभन्दा बढी देखिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा मात्रै करिब दुई सय जनामा यस्तो समस्या देखिएको मन्त्रालयले जनाएको छ। रसुवामा ५० र काठमाडौंमा २० जना प्रभावितमा पनि रुघाखोकी तथा ज्वरो देखिएको छ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले हालसम्मको तथ्यांकलाई रोगको प्रकोप घोषणा गर्नुपर्ने अवस्था नरहेको बताए। तर, होल्डिङ सेन्टरमा ठूलो संख्यामा मानिसहरू एकै ठाउँमा बसिरहेकाले सरुवा रोग फैलिने जोखिम उच्च रहेको उनको भनाइ छ।
“हालसम्म ८८ जनामा झाडापखाला देखिएको छ। २७० भन्दा बढीमा रुघाखोकी र ज्वरो देखिएको छ। यो सुरुदेखिको तथ्यांक हो, यसलाई प्रकोप भन्न मिल्दैन। तर, संख्या बढिरहेको देखिन्छ,” अधिकारीले भने, “होल्डिङ सेन्टरको बसोबास, सरसफाइ र खानपानमा विशेष ध्यान दिनुपर्छ।”
बाढी प्रभावितलाई रसुवा, धादिङ, नुवाकोट र काठमाडौंका ३२ वटा होल्डिङ सेन्टरमा राखिएको छ। नुवाकोटमा २१, काठमाडौंमा तीन, रसुवामा छ र धादिङमा दुई वटा होल्डिङ सेन्टर छन्। ती केन्द्रमा गरी दुई हजार ७८२ जना बाढी प्रभावित रहेका छन्।
होल्डिङ सेन्टरमा ठूलो संख्यामा प्रभावित रहे पनि कतिपय स्थानमा पर्याप्त स्वास्थ्य स्क्रिनिङ हुन नसकेको मन्त्रालयले जनाएको छ। यसले बाहिरबाट देखिएका बिरामीबाहेक अन्य व्यक्तिमा पनि सरुवा रोग फैलिन सक्ने जोखिम बढाएको छ।
रुघाखोकी र ज्वरो देखिएका प्रभावितलाई सुरक्षित रूपमा छुट्टै राखेर स्वास्थ्य निगरानी गर्ने गरिएको डा. अधिकारीले बताए। होल्डिङ सेन्टर तथा आसपासका स्वास्थ्य शिविरमा सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षित खानेपानीको अभाव अर्को प्रमुख चुनौती बनेको छ। स्वास्थ्य मन्त्रालयका सचिव विकास देवकोटाका अनुसार होल्डिङ सेन्टरमा सन्तुलित आहारको व्यवस्था गर्न तथा जंकफुडजन्य खानेकुराभन्दा पौष्टिक खाना उपलब्ध गराउन स्थानीय तहलाई ध्यानाकर्षण गराइएको छ।
बाढीका कारण स्थानीय धारा, कुवा र मूलको पानी दूषित हुन सक्ने भएकाले त्यस्तो पानी प्रयोग नगर्न मन्त्रालयले आग्रह गरेको छ। बोतल तथा जारको पानी पर्याप्त नहुँदा कतिपय प्रभावितले स्थानीय धाराको पानी प्रयोग गरिरहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २० हजारभन्दा बढी जार र ३२ हजारभन्दा बढी कार्टुन खानेपानी बाढी प्रभावित क्षेत्रमा वितरण गरिएको छ। खाद्यान्नसँगै सुरक्षित खानेपानी पनि प्रभावित क्षेत्रमा पठाउने गरिएको मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा हैजाको संक्रमण फैलन सक्ने जोखिमलाई ध्यानमा राख्दै सरकारले नुवाकोट र रसुवामा एक लाख १० हजारभन्दा बढी डोज हैजाविरुद्धको खोप पठाएको छ।
मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार नुवाकोटमा २४ हजार पाँच सय र रसुवामा ८६ हजार डोज खोप पठाइएको थियो। दुई साताअघिदेखि खोप वितरण भइरहेकोमा शनिबारसम्म नुवाकोटमा ३२ हजार र रसुवामा ११ हजार जनालाई खोप दिइएको मन्त्रालयले जनाएको छ।
प्रभावित क्षेत्रमा विशेषगरी बालबालिका र महिलालाई लक्षित गरी खोप वितरण भइरहेको छ।
बाढी प्रभावित क्षेत्रमा केन्द्रबाट १२० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोली परिचालन गरिएको थियो। तीमध्ये ७० जना फर्किसकेका छन् भने करिब ३० जना अझै रसुवा, धादिङ र नुवाकोटका अस्पताल तथा स्वास्थ्य शिविरमा खटिएका छन्।
होल्डिङ सेन्टर र आसपासका स्वास्थ्य शिविरबाट प्रभावितको स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयले होल्डिङ सेन्टरमा बसोबास गरिरहेका प्रभावितलाई सुरक्षित खानेपानीको प्रयोग, हात तथा व्यक्तिगत सरसफाइ, सन्तुलित खानपान र बिरामीको समयमै पहिचानमा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै, झाडापखाला, ज्वरो, रुघाखोकीलगायतका लक्षण देखिए तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउन अनुरोध गरिएको छ।
प्रतिक्रिया