विवादकै बीच कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, वडा अधिवेशनबाट नेतृत्व छनोट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ आश्विन २०८३, आईतवार ०६:५३
काठमाडौं । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको कार्यतालिका र सहभागितालाई लिएर शीर्ष तहमा विवाद चर्किरहेका बेला महाधिवेशनको औपचारिक प्रक्रिया वडा तहबाट सुरु भएको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार असोज ३ र ४ गते देशभर वडा अधिवेशन सञ्चालन हुँदैछ। पार्टीले असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका अघि बढाएको छ।

वडा अधिवेशनमा २०८२ पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरू सहभागी हुने व्यवस्था गरिएको छ। वडा अधिवेशनबाट वडा सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव, एक सहसचिव तथा वडा सदस्यहरू निर्वाचित हुनेछन्। साथै, माथिल्लो तहको अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिसमेत चयन गरिनेछ।

तर कांग्रेसभित्र महाधिवेशनको मिति र प्रक्रियालाई लिएर असहमति कायमै छ। सभापति गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षले असोजमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका अघि बढाइरहेको छ भने संस्थापनइतर समूहले असोज १५ गतेदेखि छुट्टै प्रक्रिया अघि बढाउने अडान राखेको छ। उक्त समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने वैकल्पिक कार्यतालिका समेत सार्वजनिक गरेको छ।

सभापति गगन थापाले भने पार्टीका क्रियाशील सदस्यहरूलाई निर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशनमा सहभागी हुन सार्वजनिक आह्वान गरेका छन्। उनले महाधिवेशन संविधान, पार्टी विधान र प्रचलित कानुनअनुसार हुन लागेको उल्लेख गर्दै पार्टीभित्रका मतभेद संवाद र विधिबाट समाधान गर्नुपर्ने बताएका छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार १५औँ महाधिवेशनअन्तर्गत देशभर ६ हजार ७४३ वडामा अधिवेशन गर्ने कार्यतालिका छ। वडा अधिवेशनपछि गाउँ–नगरपालिका अधिवेशन, प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय तथा जिल्ला अधिवेशन हुँदै असोज १० गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तालिका तय गरिएको छ।

वडा अधिवेशनबाट निर्वाचित हुने प्रतिनिधिको संरचना पनि समावेशी बनाइएको छ। क्रियाशील सदस्यको संख्याका आधारमा महिला, दलित, युवा, श्रमिक तथा विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

यसैबीच, भोटेकोशी नदीको बाढीबाट प्रभावित धादिङ, नुवाकोट र रसुवामा समेत अधिवेशन प्रक्रिया अघि बढाइएको छ। निर्वाचन समितिका अनुसार ती जिल्लामा स्थानीय अवस्था र आवश्यक समन्वयका आधारमा फरक मितिमा वडा अधिवेशन सञ्चालन गरिनेछ। शनिबार ३५ जिल्लामा वडा अधिवेशन भइरहेको र ३९ जिल्लामा आइतबार अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसभित्रको विवादकै बीच अधिवेशन प्रक्रिया अघि बढेपछि आगामी दिनमा दुवै पक्षलाई एउटै महाधिवेशन प्रक्रियामा कसरी समेटिन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ। पार्टीका विभिन्न नेताहरूले भने महाधिवेशन स्थगित गरी संवाद र सहमतिबाट समाधान खोज्न आग्रह गर्दै आएका छन्।

यसरी कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया वडा तहबाट अघि बढेको छ भने शीर्ष नेतृत्वबीचको असहमति समाधान गर्दै सबै पक्षको सहभागिता सुनिश्चित गर्ने चुनौतीसमेत कायमै रहेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor