गीतामाता स्कुलमा पढ्दै छन् भोटेकोशी बाढी प्रभावित ७० बालबालिका

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०८३, शुक्रबार ०६:५४

काठमाडौं । भोटेकोशी बाढीका कारण अभिभावक गुमाएका, विस्थापित भएका तथा पढाइबाट वञ्चित भएका ७० बालबालिकाले काठमाडौंको डल्लु विजेश्वरीस्थित गीतामाता माध्यमिक विद्यालयमा अध्ययन गर्न थालेका छन्।

बाढी प्रभावित बालबालिकालाई सामान्य अवस्थामा फर्काउँदै उनीहरूको पढाइलाई निरन्तरता दिने उद्देश्यले विद्यालयले अन्य विद्यार्थीभन्दा फरक ढंगबाट मनोपरामर्शसहित पठनपाठन अघि बढाएको विद्यालयका सहायक प्रधानाध्यापक रामप्रसाद देवकोटाले जानकारी दिए।

उनका अनुसार बाढी प्रभावित क्षेत्रबाट सयभन्दा बढी बालबालिका विद्यालयमा आएका थिए। तर विभिन्न कारणले कतिपय बालबालिका नियमित विद्यालय आउन छाडेका छन्। बिहीबारसम्म ७० जना बालबालिका नियमित रूपमा विद्यालय आइरहेका छन्।

“बाढी प्रभावित क्षेत्रमा थुप्रै बालबालिका पढाइबाट वञ्चित भएका छन्। हामीले स्कुलनजिकैको पहेँलो गुम्बामा बस्नुभएका विद्यार्थीलाई पनि पढाइरहेका छौँ। विगतमा त्रिशूली माविमा पढ्ने तर बाढीपछि काठमाडौं आएका बालबालिका पनि यहाँ पढ्न आउँछन्,” देवकोटाले भने, “उनीहरूको मनस्थिति बुझेर पढाइरहेका छौँ। कतिपय बालबालिकाका अभिभावकसमेत हुनुहुन्न।”

विद्यालयमा अध्ययनरत बाढी प्रभावित बालबालिकालाई नियमित रूपमा मनोपरामर्श दिइँदै आएको छ। सहायक प्रधानाध्यापक देवकोटाका अनुसार दैनिक ३० भन्दा बढी मनोपरामर्शदाता विद्यालयमा पुगेर बालबालिकालाई परामर्श तथा भावनात्मक सहयोग गर्ने गरेका छन्।

विद्यालयले दिनभरि बालबालिकालाई आफ्नै निगरानीमा राखेर पठनपाठन गराए पनि विद्यालय बिदा भएपछि उनीहरू होल्डिङ सेन्टर वा आफन्तको घरमा जाने गरेका छन्।

“कतिपय बालबालिका परिवारसँग होल्डिङ सेन्टरमा बसेका छन् भने कतिपय छिमेकी र आफन्तकहाँ बसेका छन्,” देवकोटाले भने, “उनीहरूलाई सकेसम्म मनोपरामर्शबाट बलियो बनाउँदै पढाउन थालेका छौँ।”

बाढीका कारण केही बालबालिकामा डराउने, तर्सिने तथा अभिभावकको खोजी गर्दै आत्तिने समस्या देखिएको विद्यालयले जनाएको छ। यस्तो अवस्थामा पढाइसँगै उनीहरूको मानसिक तथा भावनात्मक अवस्थालाई प्राथमिकतामा राखिएको छ।

करुणा फाउन्डेसन र काठमाडौं महानगरपालिकाको पहलमा बालबालिकालाई खेलकुदमा सहभागी गराउने, स्वास्थ्य परीक्षण गर्ने तथा मनोपरामर्श दिने कार्यसमेत भइरहेको छ।

हाल गीतामाता विद्यालयमा अध्ययनरत ७० बालबालिकामध्ये २२ जना बालविकास तहका छन्। उनीहरूको उमेर दुईदेखि छ वर्षसम्म रहेको विद्यालयले जनाएको छ।

पहेँलो गुम्बाबाट विद्यालयसम्म बालबालिका पुर्‍याउन एलआरआईको बससेवा

डल्लुस्थित गीतामाता विद्यालयमा अध्ययन गर्न जाने पहेँलो गुम्बामा आश्रित बालबालिकाका लागि कलंकीस्थित लर्निङ रियलम इन्टरनेसनल (एलआरआई) स्कुलले बससेवा उपलब्ध गराएको छ।

एलआरआईले गुम्बाबाट विद्यालयसम्म बालबालिकालाई पुर्‍याउने र विद्यालयबाट पुनः गुम्बासम्म ल्याउने व्यवस्था गरेको हो।

त्यस्तै, कोसिस नेपाल नामक संस्थाले बाढी प्रभावित बालबालिकाका लागि लुगा, जुत्ता र झोलालगायतका सामग्री उपलब्ध गराएको काठमाडौं महानगरपालिकाले जनाएको छ।

बाढीका कारण विस्थापित भएका बालबालिकाको पढाइ रोकिएर उनीहरूको भविष्य प्रभावित नहोस् भन्ने उद्देश्यले स्थानीय तह, विद्यालय तथा विभिन्न संघसंस्थाको सहकार्यमा पठनपाठनसँगै स्वास्थ्य, खेलकुद र मनोपरामर्शलाई समेत अघि बढाइएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor