कृष्णभीरको सडक खुलेपछि एलपी ग्यासको मूल्य पूर्ववत्, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०८३, शुक्रबार ०६:४९

काठमाडौं । कृष्णभीर क्षेत्रमा अवरुद्ध सडक खुलेसँगै नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पूर्ववत् कायम रहने जनाएको छ।

संघले शुक्रबारदेखि लागू हुने गरी उपभोक्ताबाट प्रतिसिलिन्डर अधिकतम २ हजार ६० रुपैयाँ मात्र लिन उद्योगी तथा विक्रेतालाई आग्रह गरेको छ। नेपाल आयल निगमले तोकेको मूल्यअनुसार नै ग्यास बिक्री गर्न संघले सबै उद्योगी तथा विक्रेतालाई निर्देशन दिएको हो।

त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यकामा एलपी ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। वैकल्पिक मार्गबाट ग्यास ढुवानी गर्दा अतिरिक्त खर्च बढेकाले संघले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप गरी अधिकतम २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न यसअघि आग्रह गरेको थियो।

अवरुद्ध सडकमा वैकल्पिक मार्ग निर्माण गरी यातायात सञ्चालनमा आएपछि अहिले ग्यास बोकेका बुलेटहरू नियमित रूपमा काठमाडौं आउन थालेका छन्। वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ढुवानी गर्नुपर्ने अवस्था हटेकाले अब अतिरिक्त ढुवानी खर्च लिन आवश्यक नरहेको संघले जनाएको छ।

संघले सबै ग्यास उद्योगीलाई पूर्ववत् मूल्य लागू भएको जानकारी आफ्ना विक्रेतालाई गराउनसमेत आग्रह गरेको छ।

यससँगै काठमाडौं उपत्यकाका उपभोक्ताले अब प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमै एलपी ग्यास खरिद गर्न पाउने भएका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor