५ प्रतिशतभन्दा बढी सेयर बिक्रीमा १५ दिनअघि सूचना दिनुपर्ने, लगानीकर्ता चिन्तित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ भाद्र २०८३, बुधबार ०६:०५

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत कम्पनीका आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्दा अनिवार्य रूपमा १५ दिनअघि सार्वजनिक सूचना दिनुपर्ने व्यवस्था गरेको छ।

नयाँ निर्देशनअनुसार आधारभूत सेयरधनीले सेयर बिक्री गर्नुअघि दिएको जानकारी सम्बन्धित कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सार्वजनिक गर्नुपर्नेछ।

बिक्री सूचनाको वैधता तीन महिना

सेबोनका अनुसार यसरी सार्वजनिक गरिएको सेयर बिक्रीसम्बन्धी सूचनाको वैधता तीन महिनासम्म रहनेछ। अर्थात् ५ प्रतिशत वा सोभन्दा बढी सेयर बिक्री गर्न चाहने आधारभूत सेयरधनीले पूर्वसूचना जारी भएको तीन महिनाभित्र कारोबार सम्पन्न गरिसक्नुपर्नेछ।

उक्त अवधिमा तोकिएको परिमाणमा सेयर बिक्री हुन नसकेमा पुनः यही प्रक्रिया पूरा गरी नयाँ सूचना सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

पारदर्शिताका लागि व्यवस्था, लगानीकर्तामा चिन्ता

सेबोनले सेयर बजारमा पारदर्शिता कायम गर्ने उद्देश्यले यस्तो व्यवस्था गरेको भए पनि यसले बजारमा थप सेयर आपूर्ति (सप्लाय) बढाउने भन्दै केही लगानीकर्ताले चिन्ता व्यक्त गरेका छन्।

बजार पहिले नै सुस्त रहेको र लगानीकर्ताको मनोबल कमजोर रहेको अवस्थामा ठूलो परिमाणमा सेयर बिक्री हुन लागेको पूर्वजानकारीले बजारमा मनोवैज्ञानिक दबाब सिर्जना गर्न सक्ने उनीहरूको तर्क छ।

लगानीकर्ता छोटेलाल रौनियारले अहिले लगानीकर्ताको आत्मबल बढाउनेतर्फ ध्यान दिनुपर्ने समयमा नयाँ नियम थप्नुभन्दा विद्यमान व्यवस्थालाई सहज बनाउनुपर्ने बताए।

‘अहिले बजारमा मनोविज्ञान कमजोर भएको बेला नियम थप्ने होइन, सहज बनाउने हो,’ उनले भने।

अर्का लगानीकर्ता तारा फुल्लेलले सेबोनले सकारात्मक उद्देश्यका साथ नियम ल्याएको भए पनि ठूलो परिमाणमा सेयर आपूर्ति हुने पूर्वसूचनाले बजारमा सकारात्मकभन्दा नकारात्मक प्रभाव बढी पार्न सक्ने बताए।

नेपाल सेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डेले अहिलेको आवश्यकता बजारमा माग (डिमान्ड) सिर्जना गर्ने नीति रहेको बताए। उनले सेयरको आपूर्ति व्यवस्थापनसँगै माग बढाउनेतर्फ नियामकले ध्यान दिनुपर्ने धारणा राखे।

बोर्डको नयाँ व्यवस्थाले आधारभूत सेयरधनीको ठूलो परिमाणको सेयर बिक्रीबारे लगानीकर्तालाई पूर्वजानकारी उपलब्ध गराउने भए पनि यसले बजारको मनोविज्ञान र सेयर आपूर्तिमा पार्ने प्रभावबारे भने बहस सुरु भएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor