भदौ महिनाको करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ भाद्र २०८३, आईतवार ०६:३२

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज १ गते घोषणा हुने भएको छ।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले भदौ महिनाका विजेताको पुरस्कार घोषणा असोज १ गते गरिने जानकारी दिएका छन्।

करदातालाई बिल–बिजक लिन तथा कर तिर्ने प्रणालीमा अभ्यस्त गराउने उद्देश्यले नयाँ आर्थिक वर्षको बजेटमार्फत सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालनमा ल्याएको हो। साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने तयारी गरिएको थियो। तर, भोटेकोशी बाढीका कारण देशमा विपद्को अवस्था सिर्जना भएपछि उक्त कार्यक्रम स्थगित गरिएको थियो।

३१ जनालाई दैनिक १ लाख ३३ हजार ३३४ रुपैयाँ

महानिर्देशक भुसालका अनुसार पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट हरेक दिन एक जनाका दरले १५ जना विजेता छनोट गरिनेछ।

प्रत्येक विजेताले १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। सोही अवधिमा कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारसमेत प्रदान गरिनेछ।

त्यसपछि दोस्रो चरणमा भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि दैनिक एक जनाका दरले थप १६ जना विजेता छनोट हुनेछन्। उनीहरूलाई पनि जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार प्रदान गरिने विभागले जनाएको छ।

यस अवधिमा कारोबार गर्ने उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको बम्पर पुरस्कारका लागि छनोट गरिनेछ।

३३ जनाले पाउनेछन् पुरस्कार

असोज १ गते भदौ महिनाका लागि कुल ३३ जना विजेता घोषणा गरिनेछन्। त्यसमध्ये १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले ३१ जना विजेता र १०–१० लाख रुपैयाँका दुई जना बम्पर विजेता रहनेछन्।

यसरी भदौ महिनाको करदाता प्रोत्साहन कार्यक्रममा दैनिक पुरस्कारतर्फ ३१ जना र बम्पर पुरस्कारतर्फ दुई जना गरी कुल ३३ जनाले पुरस्कार प्राप्त गर्नेछन्।

विभागले करदातालाई नियमित रूपमा बिल–बिजक लिन, अनलाइन कारोबारलाई प्रोत्साहन गर्न तथा कर प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन यस्तो प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor