कप्तानीमा फर्किएको प्रतियोगितामै सन्दीपको दोहोरो सफलता
rastriyakhabar
२८ भाद्र २०८३, आईतवार ०६:२३
काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीको कप्तानीमा पुनरागमन गरेको पहिलो प्रतियोगितामै सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरेका छन्। एसिसी प्रिमियर कपमा नेपाललाई च्याम्पियन बनाउँदै एसिया कपमा पुर्याएका सन्दीप व्यक्तिगत रूपमा पनि प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका छन्।
प्रतियोगिताको फाइनलमा शनिबार यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसिया कप २०२७ मा स्थान सुरक्षित गरेको हो। नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएईलाई पराजित गर्दै नेपालले उपाधिसँगै आगामी वर्ष बंगलादेशमा हुने एसिया कपको टिकट काटेको हो।
एसिया कपमा आयोजक बंगलादेशसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तानजस्ता टेस्ट राष्ट्र सहभागी हुनेछन्। नेपालले दोस्रोपटक एसिया कप खेल्ने अवसर पाएको हो।
सर्वाधिक विकेट, ‘प्लेअर अफ द सिरिज’
सन्दीपका लागि प्रतियोगिता व्यक्तिगत रूपमा पनि विशेष रह्यो। उनले प्रतियोगिताभर उत्कृष्ट बलिङ गर्दै सर्वाधिक १७ विकेट लिए र ‘प्लेअर अफ द सिरिज’ घोषित भए।
कप्तानीमा फर्किएपछि सन्दीपले बलिङमार्फत मात्रै होइन, मैदानमा निर्णय क्षमता र टिम व्यवस्थापनमार्फत पनि प्रभाव छाडे। विशेषगरी फाइनलमा उनले देखाएको नेतृत्वदायी क्षमताको प्रशंसा भइरहेको छ।
करणमाथि देखाएको विश्वास निर्णायक
फाइनलमा नेपालले पहिले ब्याटिङ गर्दै ३१४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। यद्यपि वायुमास क्रिकेट ओभलको पिच ब्याटिङका लागि अनुकूल रहेकाले उक्त स्कोरपछि पनि नेपाल पूर्ण रूपमा ढुक्क हुने अवस्था थिएन।
लक्ष्य पछ्याउने क्रममा यूएईका ब्याटरले सुरुवातदेखि नै आक्रामक खेल प्रस्तुत गरेका थिए। विशेषगरी नेपाली तीव्र गतिका बलर करण केसीविरुद्ध यूएईका ओपनरले चौका र छक्का प्रहार गर्दै दबाब सिर्जना गरेका थिए।
तर, कप्तान सन्दीपले करणमाथि विश्वास कायम राख्दै उनलाई निरन्तर बलिङमा लगाए। अन्ततः करणले ४.६ ओभरमा खतरनाक देखिएका ओपनरलाई आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए। त्यसपछि नेपाल खेलमा फर्किन सफल भयो।
किफायती बलिङ र उत्कृष्ट फिल्डिङले दिलायो उपाधि
यूएईले मिडल ओभरमा राम्रो साझेदारी गर्दै नेपालमाथि दबाब कायम राखेको थियो। तर नेपाली बलरहरूले किफायती बलिङ गरे भने फिल्डरहरूले पनि उत्कृष्ट प्रदर्शन गरे।
नेपालका खेलाडीले महत्वपूर्ण समयमा उत्कृष्ट क्याचहरू लिएपछि यूएईको इनिङ्स क्रमशः दबाबमा पर्दै गयो। अन्ततः नेपालले ४४ रनको जित निकाल्दै उपाधि जित्यो।
पहिलो प्रतियोगितामै कप्तानीको परीक्षा पास
एसिसी प्रिमियर कपबाटै नेपाल क्रिकेट संघले रोहित पौडेलको स्थानमा सन्दीप लामिछानेलाई राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी दिएको थियो।
कप्तानीमा फर्किएको पहिलो प्रतियोगितामै टोलीलाई च्याम्पियन बनाउँदै एसिया कपमा पुर्याउनु र स्वयं प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्नु सन्दीपका लागि दोहोरो सफलता हो।
यससँगै सन्दीपले कप्तानीमा आफ्नो पुनरागमनलाई केवल जिम्मेवारीको निरन्तरता मात्र नभई प्रदर्शन र नतिजामार्फत प्रमाणित गरेका छन्। नेपाल क्रिकेटका लागि भने यो सफलता आगामी एसिया कपमा विश्वस्तरीय टोलीसँग प्रतिस्पर्धा गर्ने अर्को महत्वपूर्ण अवसर बनेको छ।
प्रतिक्रिया