रियल स्टेट चलायमान नहुँदा समग्र अर्थतन्त्रमा असर परेको व्यवसायीको दाबी
rastriyakhabar
२६ भाद्र २०८३, शुक्रबार ०६:१७
काठमाडौं । रियल स्टेट अर्थात् घरजग्गा क्षेत्र चलायमान हुन नसक्दा त्यसको प्रत्यक्ष असर समग्र अर्थतन्त्रमा परेको व्यवसायीहरूले बताएका छन्।
व्यवसायी दिपम मल्होत्राले विभिन्न नीतिगत समस्या, बैंकिङ प्रक्रियाको झन्झट तथा रियल स्टेट क्षेत्रलाई प्राथमिकतामा नराखिएका कारण व्यवसाय चलायमान हुन नसकेको बताए। उनका अनुसार घरजग्गा कारोबार सुस्त हुँदा निर्माण सामग्रीदेखि बैंकिङ, रोजगारी र अन्य धेरै क्षेत्रमा त्यसको ‘चेन इफेक्ट’ देखिएको छ।
आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ को पूर्वसन्ध्यामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मल्होत्राले रियल स्टेट क्षेत्रलाई बेवास्ता गरिए त्यसको गम्भीर असर समग्र अर्थतन्त्रमा पर्ने दाबी गरे।
उनले भने, “रियल स्टेटमा आएको कमी–कमजोरी अर्थात् व्यवसाय चलायमान नहुँदा सबै क्षेत्रमा चेन इफेक्ट देखिएको छ। घर वा भौतिक संरचना बनाउँदा रड, सिमेन्ट वा अन्य सामग्रीको कारोबार नहुने भएकाले त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको छ।”
उनका अनुसार रियल स्टेट क्षेत्रलाई नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकायले अपेक्षित प्राथमिकता दिन सकेका छैनन्। व्यवसायीहरूले घरजग्गाको कारोबारलाई चलायमान बनाउन ‘लोन टु भ्यालु रेसियो’ न्यूनतम ७० प्रतिशत कायम गर्नुपर्ने माग राख्दै आए पनि केही प्रावधानका कारण प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको भनाइ छ।
“म दाबीका साथ भन्छु, अझै पनि रियल स्टेट क्षेत्रलाई बेवास्ता गरिए सिंगो देशको अर्थतन्त्रमा गम्भीर असर पर्नेछ,” मल्होत्राले भने।
हदबन्दीले व्यवसायी मारमा
मल्होत्राले घरजग्गा व्यवसायमा लागू गरिएको हदबन्दीका कारण व्यवसायीहरू ठूलो समस्यामा परेको पनि बताए। सरकारले समस्या समाधान गर्ने आश्वासन दिँदै आए पनि व्यवहारमा अपेक्षित सुधार हुन नसकेको उनको गुनासो छ।
घरजग्गा कारोबारमा देखिएका नीतिगत तथा प्रक्रियागत समस्या समाधान गर्दै निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहित गर्नुपर्नेमा उनले जोड दिए।
पुनर्निर्माणमा आधुनिक प्रविधिमा जोड
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुकुमार घिमिरेले महाविपत्तिका कारण क्षतिग्रस्त भएका घर तथा भौतिक संरचनाको पुनर्निर्माण गर्दा आधुनिक प्रविधिको प्रयोगमा विशेष ध्यान दिनुपर्ने बताए।
उनले सुरक्षित तथा व्यवस्थित आवास निर्माणका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै रियल स्टेट क्षेत्रलाई सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए।
घिमिरेका अनुसार व्यवस्थित आवास विकास, सुरक्षित भवन निर्माण र निर्माण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले नागरिकको आवासीय आवश्यकता पूरा गर्नुका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
चार दिनसम्म घरजग्गा तथा निर्माण प्रदर्शनी
घरजग्गा तथा निर्माण क्षेत्रका पछिल्ला प्रविधि, उत्पादन र सेवाबारे जानकारी गराउने उद्देश्यले असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३’ आयोजना हुँदैछ।
प्रदर्शनीले घरजग्गा तथा निर्माण क्षेत्रका व्यवसायी, उपभोक्ता, बैंक तथा वित्तीय संस्था र सरोकारवालाबीच प्रत्यक्ष संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया